अवैध रुपमा युरोप छिर्न लागेका ३७ नेपाली टर्कीबाट पक्राउ !

अवैध रुपमा युरोप छिर्न लागेका ३७ नेपाली टर्कीबाट पक्राउ !


काठमाडौं, २६ चैत । टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुपमा युरोप छिर्ने तयारीमा थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए ।
इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् । पक्राउको यो घटनाबारे टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पाएका थिए । उनले एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रहरीले पाएपछि त्यहाँ छापा मारेको बताए । उनले पक्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घटनापछि सील गरिएको बताए ।
घिसिङले अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अवैध बाटोबाट नजान र त्यो खतरनाक रहेको बताउँदै आएका छौं । तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’
टर्किस अनलाइन ईन सन हाबरले टर्कीमा अवैध आप्रवासीहरुको संख्या बढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नियन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी निगरानीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।
अवैध रुपमा टर्कीबाट ग्रिस छिर्ने क्रममा हुने दुर्घटनामा नेपालीहरुको मृत्यु हुने श्रृंखला निरन्तर रहे पनि नेपालीहरु संगठित मानव तस्करको भरमा अवैध रुपमा ग्रिस छिर्न जस्तोसुकै जोखिम उठाइरहेको देखिन्छ । २५ कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा ४ नेपालीको मृत्यु भएको थियो ।