क्वीएनसीसीका लागि ‘वाक फर कम्युनिटी सेन्टर’

क्वीएनसीसीका लागि ‘वाक फर कम्युनिटी सेन्टर’


ब्रिजबेन, अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्वीन्सल्याण्डले ‘वाक फर कम्युनिटी सेन्टर’ भन्ने कार्यक्रमको आयोजना गरेको छ। क्विन्सल्याण्डमा निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) को आर्थिक सहयोगका लागि एनएक्वी र क्वीएनसीसीको सहयोगमा एनआरएनए क्वीन्सल्याण्डले उक्त कार्यक्रमको आयोजना गरेको हो।

‘समुदायको लागि एक दिन’ भन्ने नारा दिएको उक्त कार्यक्रम २७ अप्रिल शनिवार बिहान हुने एनआरएनए क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसीले जानकारी दिए। उक्त कार्यक्रमलाई केही घण्टा समुदायको नाममा हिँड्ने र हामीबिच भाइचारा, मित्रताको सम्बन्ध बिस्तार गर्ने अवसरका रूपमा लिएको उनले बताए। कार्यक्रममा सहभागी हुने प्रतिव्यक्ति २५ अष्ट्रेलियन डलर शुल्क तोकिएको उनले बताए। नेपालबाट आएका अभिभावक र बालबालिकालाई भने निःशुल्क सहभागी गराउने व्यवस्था मिलाइएको छ उनले भने। कार्यक्रमको अन्त्यमा सहभागीलाई चियापानको व्यवस्था मिलाइएको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष समेत रहेका गाईसीले बताए। विषेश गरि हिँड्ने कार्यक्रम भएकाले कम्फर्टेबल खालको लुगा लगाएर आउने उनले आग्रह गरे। विशुद्ध क्वीएनसीसीको निरन्तरताका लागि आयोजना गरिएको कार्यक्रम भएकाले सम्पूर्ण क्वीन्सल्याण्डवासी नेपालीहरूलाई अपिल गरेका छन्। 

क्वीएनसीसीको निरन्तरताका लागि आयोजना गरिएको यस कार्यक्रमबाट उठेको सबै रकम सामुदायिक केन्द्रलाई हस्तान्तरण गरिने उनले बताए। एनआरएन क्वीन्सल्याण्डले सामुदायिक केन्द्रका लागि चालेको कदम सकरात्मक भएको भन्दै प्राप्त हुने आर्थिक सहयोग क्वीएनसीसीको निर्माणका काममा खर्च गरिने अध्यक्ष केशव शर्माले बताए। क्विएनसीसीको नयाँ सदस्य लिन बाँकी र पाइपलाईनमा बसेकाहरुले आ–आफ्नो बाँकी रकम जम्मा गरी आजीवन सदस्यता लिन आग्रह गरेका छन्। 

वाक फर कम्युनिटी सेन्टर कार्यक्रम सम्बन्धी थप जानकारी लिनु परेमा एनएक्वीका अध्यक्ष हेमांग शर्मा, एनआरएनए क्वीन्सल्याण्डका सचिव श्याम बस्नेत र सदस्य मार्क आर्यालाई सम्पर्क गर्न सकिनेछ।