कतारका राजालाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

कतारका राजालाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने


काठमाडौं ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन्।

दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर मंगलबार बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन्। अपरान्ह आइपुग्ने कतारी राजाको स्वागतका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको छ भने उनको सम्मानमा मंगलबार एक दिन सार्वजनिक विदा दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्ले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ। कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो। कतार नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो। यसकारण पनि कतारी अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ।

अमिरसँगै कतार सरकारका मन्त्री र उच्च अधिकारीहरू समेत टोलीमा सम्मिलित छन्। दुई देशबीचको बार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले वार्ता गर्नेछन्। कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गरेका छन्।

त्यस्तै कतारका अमिर शेख थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि अपरान्ह उनी कता फर्किनेछन्।