देउवा–कोइरालाबीच गठबन्धनको विषयलाई लिएर सवाल–जवाफ

देउवा–कोइरालाबीच गठबन्धनको विषयलाई लिएर सवाल–जवाफ


काठमाडौं, १२ चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे बहस भइरहेका बेला सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच जवाल–जवाफ चलेको छ । १४ औँ महाधिवेशनमा एउटै पदका प्रत्यासी रहेका देउवा–कोइराला आज महाधिवेशनपछि पहिलो पटक एउटै मञ्चमा देखिए, बीपी स्मृति सहकारी सामुदायिक अस्पतालको वार्षिक साधारण सभामा ।
सभामा बोल्नेक्रममा पहिले बोल्ने पालो पाएका नेता कोइरालाले सभापति देउवालाई लक्षित गर्दै थुप्रै सवाल उठाए, अन्त्यमा बोलेका सभापति देउवाले मञ्चबाटै ती सवालहरूको जवाफ दिए, कोइरालामाथि दोहो¥याई–तेहे¥याई कटाक्ष गरे । त्यसक्रममा देउवा–कोइरालाले एकअर्काप्रति आरोप–प्रत्यारोपसमेत गरेका छन् ।
सभापति देउवाले महाधिवेशनमा आफूले पाएको ४० प्रतिशत मतभारको अस्तित्व नस्वीकारेको आरोप लगाउँदै आएका नेता कोइरालाले कार्यक्रममा बोल्दै वर्तमान सरकार निर्माण, सञ्चालन र आसन्न चुनावमा गठबन्धनबारे प्रश्न उठाए । नेता कोइरालाले सभापति देउवाले प्रयास गरिरहेको भएपनि कतिपय कुरामा ध्यान नपुगेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।
कोइरालाले आसन्न चुनावमा कांग्रेसले विचार र सिद्धान्त नमिल्ने दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे सोचेर निर्णय लिनुपर्ने बताए । ‘यो सरकार बन्ने सन्दर्भमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीहरूबीच गठबन्धन भयो, संविधान र लोकतन्त्रको बचाउका लागि त्यो गठबन्धन गर्नु स्वभाविक थियो,’ कोइरालाले प्रश्न गर्दै अघि भने, ‘तर अब चुनावमा गठबन्धन गर्ने कुरा कति फाइदाजनक हुन्छ ? गठबन्धन गर्दै जाँदा नेपाली कांग्रेसको अवस्था भारतीय कांग्रेसको जस्तो पो हुने हो कि ?’
नेता कोइरालाले सभापति देउवाले अन्य पार्टीसँग गठबन्धन गर्नेभन्दा पनि कांग्रेसभित्रै गुट उपगुटलाई मिलाएर अघि बढ्नुपर्ने सुझाव दिए । ‘कांग्रेसको आफ्नै विचार र सिद्धान्त छ, त्यो विचार सिद्धान्तलाई अघि बढाएर कांग्रेसभित्रका गुट उपगुटलाई अन्त्य गरेर अघि बढ्यो भने कांग्रेसले कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यक मैले देखेको छैन,’ कोइरालाले भने, ‘कांग्रेसभित्रको गुट उपगुटलाई मिलाएर अघि बढ्नुपर्ने प्रयास सभापतिले गरिरहनुभएको छ, त्यसलाई अझै जिम्मेवार ढंगले अगाडि बढाउन मेरो विनम्र आग्रह छ । एकातिर गठबन्धन गरेर जाने, तर कांग्रेसकै कार्यकर्ताबीचमा मेलमिलाप र एकता नहुने हो भने हामीले जोसुकैसग गठबन्धन गरेपनि त्यसको औचित्य हुदैन ।’
कोइरालाले स्थानीयसँग संघ र प्रदेशमा समेत चुनाव जित्ने गरी कांग्रेसले योजना बनाउनुपर्ने बताए । ‘गत निर्वाचनमा हामीले स्थानीय तहमा गठबन्धन ग¥यौँ, तर संघ र प्रदेशको चुनावमा एमाले र माओवादी एक ठाउँमा उभिए, यसपटक त्यस्तो नहोस् भन्ने हाम्रो चिन्ता हो,’ उनले भने, ‘तर गठबन्धन गर्दा कांग्रेसको विचार, सिद्धान्त र संगठन कमजोर हुन्छ कि ? यो विषयमा हामी सबै चिन्तित छौँ जस्तो लाग्छ ।’ नेता कोइरालाले सभापति देउवाले पार्टीभित्रका गुट उपगुटलाई समेटेर लैजान नसकेको आरोप लगाएका थिए ।
जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले गुटबाट पार्टी नचल्ने दाबी गरे । ‘हाम्रो पार्टीमा गुट त पहिले पनि थिए, गुटको अभ्यास पहिल्यैदेखि भएको हो । सुवर्ण शमशेरको गुट थियो, गिरिजाबाबुको गुट थियो । पछि गिरिजाबाबु र किसुनजीको गुट थियो, अहिले पनि छ,’ देउवाले भने, ‘तर, गुटबाट पार्टी चल्नेवाला छैन ।’
गठबन्धन गरे पार्टी कमजोर हुने चिन्ता व्यक्त गरेको कोइरालालाई देउवाले कडा जवाफ दिए ।
‘गठबन्धन नगर्दा कस्तो हालत हुन्छ ? हामीलाई थाहै छ । हिजो हाम्रा धेरै साथीहरू हारेका हौँ, शेखरजीले पनि हार्नुभएको हो । सबै साथीहरुले हार्दा म नै बद्नाम भएँ,’ उनले अघि भने, ‘अहिले सबै साथीलाई जिताउनका लागि मैले गठबन्धन गर्न चाहेको हो । मैले के बिगारेको छु र ? पार्टीले नहारोस् भन्ने चिन्ता हो ।’
उनले कांग्रेसले चुनावी गठबन्धन नगरे माओवादी केन्द्र फेरि एमालेसँग मिल्ने बताए । ‘एमाले–माओवादी फुटे, हामी जितिहाल्छौँ भन्ने सोच्नुभएको होला । अनि उनीहरु फेरि मिले भने के हुन्छ ? त्योबेला के गर्ने ? कि मिल्न दिने हो ? मिल्न दिने भए पनि दिऊँ, मलाई त केही छैन,’ सभापति देउवाले भने, ‘उहाँहरूलाई मिल्न दिने इच्छा हो भने पनि दिऔँ । उहाँहरूलाई मिल्न केही समस्या छैन । मिल्दै मिल्दैनौँ भन्ने उहाँहरूको कुरा छैन ।’
सभापति देउवाले गठबन्धन नै नगरे पनि केपी ओलीको पार्टी कमजोर नरहेको बताए । ‘तपाईहरुको चिन्ता ठिक हो, पार्टी कमजोर नहोस्, बलियो होस् भन्ने मलाई पनि छ । पार्टी बलियो बनाउनुपर्ने छ । तर, अहिले गठबन्धन त गर्नैपर्ने अवस्था छ,’ उनले भने, ‘अझैपनि ओलीजीको पार्टी धेरै बलियो छ । ओलीजी र माओवादी छुटिहाले, हामी जितिहाल्छौँ भन्ने नसोचौँ । नेपालमा लोकतान्त्रिक पार्टी भनेको कांग्रेसमात्रै हो, अरु त सबै कम्युनिष्ट हुन् । त्यसैले हाम्रो पार्टीलाई बलियो बनाउदै सबैलाई मिलाएर जानुपर्छ ।’
प्रधानमन्त्री देउवाले स्थानीय चुनावमा आवश्यकताअनुसार गठबन्धन गरेर जान चाहेको बताए । उनले कांग्रेस कमजोर भएर वा कमजोर पार्नका लागि गठबन्धन गर्न खोजिएको भनेर नबुझ्न आग्रह गरे । ‘कांग्रेस कमजोर बनाउन गठबन्धन गर्ने भनेको होइन, कमजोर छौँ भनेर पनि गठबन्धन गर्न खोजिएको होइन, कांग्रेसलाई कमजोर पार्ने कुरै छैन, बलियो बनाउने हो । सबैलाई मिलाएर लैजाऔँ, सबैलाई समेटौँ भनेर गठबन्धन गर्न खोजिएको हो,’ देउवाको दाबी थियो ।
अर्थतन्त्र सुधार्न कोइरालाको सुझावमा प्रधानमन्त्रीले भने– ‘एमसीसी पास भएपछि व्यापार घाटा कम गर्न सहयोग पुगेको छ ।’
कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकारले बिग्रिएको अर्थतन्त्र सुधार्न नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । ‘गठबन्धनको सरकार छ, सरकारको नेतृत्वमा कांग्रेस छ, यस्तो बेला मुलुकको अर्थतन्त्र लथालिंग भएको छ,’ कोइरालाले अघि भनेका थिए, ‘सरकारका अर्थमन्त्री प्रधानमन्त्रीलाई थाहा नदिई अलग्गै संयन्त्र बनाएर काम गर्न खोजेको पाइएको छ । यसबारे प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु, यस्तो विषयलाई छिटोभन्दा छिटो रोक्नुपर्ने मैले आवश्यकता देखेको छु ।’
नेता कोइरालाले प्रधानमन्त्रीले अर्थतन्त्रबारे चिन्तित भएर चासो नदिए नेपाल ‘फेयलर स्टेट’ बन्न सक्ने जोखिम रहेको बताए । ‘अर्थतन्त्र सम्हाल्न प्रधानमन्त्रीजीले चासो दिनुपर्ने देखिन्छ । नत्र नेपाल पनि यही कारण फेयलर स्टेट बन्ने हो कि भन्ने चिन्ता सबै नेपालीलाई परिरहेको छ,’ उनले भनेका थिए ।
जवाफमा प्रधानमन्त्री देउवाले आफ्नो कारणले अर्थतन्त्र नबिग्रिएको दाबी गरे । ‘अर्थतन्त्र बिग्रिएको छ, नेपालमा व्यापार घाटा बढेको छ, यो पहिलेदेखि नै छ, मैले बढाएको होइन,’ उनले भने, ‘हामी सबै चीज विदेशबाट ल्याउँछौँ, नेपालमा केही किन्दैनौँ, उत्पादन गर्दैनौँ ।’
प्रधानमन्त्री देउवाले यो सरकारले एमसीसी परियोजना संसद्बाट अनुमोदन गरेर व्यापार घाटा गर्न एउटा प्रयास गरेको दाबी गरे । उनले एमसीसीको अनुदान लिएपछि अहिले अन्य दाताहरूबाट अनुदान आउनेक्रम रहेको बताए । ‘एमसीसीले व्यापार घाटा कम गर्न सहयोग पु¥याउँछ । एमसीसी पास भएपछि युएसएआईडीले डबल पैसा दिने भएको छ, अरुले पनि दिनेवाला छन् । एमसीसी पास भएपछि धेरै पैसा आउनेवाला छ,’ उनले भने, ‘यसले हाम्रो व्यापार घाटा कम गर्न सहयोग पुग्छ ।’
१४ औँ महाधिवेशनमा कोइरालालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित देउवाले राष्ट्रिय राजनीति र पार्टीका निर्णय प्रक्रियामा सहभागी गराएका छैनन् । कोइराला पक्षले देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको छ ।
भ्रातृ संस्थाको तदर्थ समिति गठनको विषयमा सभापति देउवाले परामर्श नगरेपछि कोइराला समूहले मोर्चाबन्दी गरेर विरोधमा उत्रिएको छ । महाधिवेशनपछि नेता कोइरालाले शुक्रबार विहान पहिलो पटक देउवालाई भेटेर पार्टीभित्रका सबै पक्षलाई मिलाएर अघि बढ्न सुझाव दिएका थिए ।