मेलबर्न, अष्ट्रेलिया । नेपाल संवतको नयाँ वर्ष ११४६ लाई मेलबर्नमा पनि विभिन्न कार्यक्रम गरी स्वागत गरिएको छ । यही अवसरमा सामूहिक म्हपूजा समेत आयोजना गरिएको छ ।
नेवा गुथि मेलबर्न ले नेपाल संवत् ११४६ तथा म्हपूजा कार्यक्रमलाई २२ अक्टोबर २०२५ मा सम्पन्न गरेको हो । समूदायका १२० भन्दा बढीको उपस्थितिमा भएको कार्यक्रमको सुरुवात इन्द्र जात्रा उत्सवका सहयोगीहरूलाई सम्मानस्वरूप ‘टोकन अफ लभ वितरणबाट भएको थियो । इन्द्र जात्रा आयोजनाका लागि प्राप्त सहयोगले नेवारी संसकृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान दिएको आयोजक नेवा गुथी मेलबर्नले जनाएको छ ।

कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, एनआरएन भिक्टोरिया संयोजक महादेव धनुक, गुथी मेलबर्नका संरक्षक राजन मास्के, रञ्जन बैद्य सहितको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन सचिव सुसान्त डोङ्गोलले गरेका थिए भने अध्यक्ष माया प्रसाद सुवालले सहभागीहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा म्हपूजा विधिका साथै सांस्कृतिक प्रस्तुति, संगीत र कथा–वाचन समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा नेवारी परम्परागत भोजको आयोजना गरिएको थियो ।

प्रतिक्रिया