मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरिया राज्यको विपक्षी पार्टी लिबरल पार्टीका दुई सांसदले नेपाली समूदायसँग अन्तरक्रिया गरेका छन् । क्रेगीबर्नमा लिबरल फ्रेन्डस अफ नेपालले आयोजना गरेको बार्बिक्यूसहितको अन्तरक्रियामा बोल्दै सांसदहरु रिचार्ड वेल्च र ईभान मुलोन्डले लिबरल पार्टी मात्रै पूर्णत जनताको प्रतिनिधिहरुको माध्यमबाट निर्णय गर्ने पार्टी भएको बताएका थिए । उनीहरुले सदस्यता लिएर आफ्नो समूदायका कुराहरु राख्न र अष्ट्रेलिया निर्माणमा हातेमालो गर्न पनि अनुरोध गरेका थिए ।
नेपाली समूदायको बढ्दो उपस्थितिसँगै उनीहरुले राजनीतिमा चासो राख्न सके दोश्रो पुस्ताका नेपालीहरुलाई राजनीतिमा आउने बाटो खुल्नेमा धेरैको एकमत थियो । कार्यक्रममा लिबरल फ्रेन्डस अफ नेपालको तर्फबाट वकिल टोनु घोताने र शंकर धरेलले आफ्नो धारणा राखेका थिए । उनीहरुले भर्खरै सकिएको चाडवाड लगत्तै आयोजना गरिएको कार्यक्रममा पनि उल्लेखनीय उपस्थिति भएको भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।






उनीहरुले पनि राजनीतिमा समूदायको उपस्थिति बढ्दै गएमा विदेशमा रहेर नेपालको राजनीतिका बारेमा अनावश्यक टिप्पणी गर्ने र चासो राख्नेक्रम घट्दै जाने बताएका थिए । कार्यक्रममा एनआरएन भिक्टोरिया संयोजक महादेव धानुकले समूदायलाई हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए भने आगामी दिनमा पनि हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया