पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई धरौटीमा छाड्न अदालतको आदेश

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले शुक्रबार ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो।

दिपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङलाई धरौटीमा छाड्न आदेश दिइएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

पुनलाई चार लाख, अछामीलाई १० लाख, चापागाईंलाई १८ लाख, न्यौपानेलाई चार लाख ४५ हजार र थापामगर र गुरुङलाई दुई-दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको उनले बताए।

सुप्रिम सहकारीबाट झन्डै पौने दुई अर्ब ठगी भएको ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । सो प्रकरणमा २८ जनालाई मुख्य अभियुक्त बनाइएको छ । मुद्दामा एक हजार दुईजनालाई थप प्रतिवादी बनाइएको छ।

त्यस्तै यता, कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश भएको छ। जीबी राईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो । ओखलढुङ्गा घर भएका राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।