कांग्रेसमा बहसः गठबन्धन गर्न केन्द्रको निर्णय नलाग्न आग्रह, कसले के भन्यो ?

कांग्रेसमा बहसः गठबन्धन गर्न केन्द्रको निर्णय नलाग्न आग्रह, कसले के भन्यो ?


काठमाडौं, ११ चैत ।सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुपर्ने, तर त्यसबारे सम्बन्धित स्थानीय तहबाटै निर्णय लिनुपर्ने धारणा राखेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताहरुले चुनावमा नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन गर्नुपर्ने, तर त्यस्तो गठबन्धन कहाँ–कसरी गर्ने भन्नेबारे सम्बन्धित स्थानीय तहको मतविभाजनको अवस्था हेरेर निर्णयमा पुग्नुपर्ने धारणा राखेका हुन् ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसम्बद्ध दलहरुलाई केन्द्रबाटै गठबन्धन गर्ने आश्वासन दिइरहेका बेला कांग्रेसको केन्द्रीय समितिमा बोल्ने नेताहरुले त्यसबारे कुनै निर्णय गर्न नमिल्ने र आवश्यकताअनुसार सबै दलसँग गठबन्धन गर्ने बाटो खुला राख्नुपर्नेमा जोड दिएका छन् ।
सभापति देउवाले बैठक शुभारम्भ गरेपछि महामन्त्री गगन थापाले गत फागुन ३ गते बसेको कार्यसम्पादन समिति बैठकका निर्णयहरु अनुमोदन गर्ने र स्थानीय तहको चुनावलक्षित अभियानको समीक्षाबारे बैठकमा जानकारी गराउने प्रस्ताव पेश गरेका थिए । त्यसपछि बैठकमा नेताहरुले बोल्नेक्रम सुरु भएको थियो ।
बैठकमा आमन्त्रित गरिएका प्रदेश सभापतिहरुलाई सुरुमै बोल्ने समय दिइएको थियो । प्रदेश सभापतिपछि चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले बोलेका थिए । नेताहरुले बोल्नेक्रम सकिएको छैन । शुक्रबार करिब ३० जना नेताहरुले धारणा राखेका छन् । बैठकमा बोल्नका लागि ५–५ मिनेट समय विभाजन गरिएको थियो ।
केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले बैठकमा बोल्नेमध्ये अधिकांश नेताहरुले चुनावी नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन गर्नुपर्ने धारणा राखेको जानकारी दिए । ‘धेरै जना नेताहरुले गठबन्धन गर्नुपर्छ भन्ने कुरा नै राख्नुभयो, तर त्यस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय चाँहि केन्द्रले गर्ने होइन, तल्ला तहबाटै त्यहाँको आवश्यकताअनुसार हुनुपर्छ भन्ने माग उठेको छ,’ उनले भने ।
बैठकमा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राखेका थिए ।
त्यस्तै, प्रदेश सभापतिहरु प्रदेश १ का सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर वानियाँ, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले प्रदेशमा कांग्रेसको अवस्थाबारे धारणा राखे ।
केन्द्रीय सदस्यहरु दिनेश कोइराला र टेकप्रसाद गुरुङ तथा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मात्रै अहिले कांग्रेसले गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेकोमा जोड दिएका थिए । तर, यदि गठबन्धन गर्नैपर्ने अवस्था भए पार्टीको संस्थागत लाभलाई केन्द्रमा राख्नुपर्ने उनीहरुको जोड थियो ।
कोइराला र गुरुङले बोल्नेबेला सभापति देउवाले तत्कालै प्रतिक्रिया जनाएका थिए ।
केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने तर्क प्रस्तुत गरे । ‘अहिले नेकपा फुटेको छ, एमाले पनि फुटेको छ, यस्तो बेला पनि कांग्रेस एक्लै चुनाव नलडे कहिले लड्ने ?,’ कोइरालाको प्रश्न थियो, ‘यदि गठबन्धन नै गर्ने हो भने पनि गठबन्धन जस्तो पवित्र शब्दको दुरुपयोग हुनुहुँदैन । स्थानीय तहको धारणा के हो, त्यो बुझ्नुपर्छ, र त्यहीअनुसार गर्नुपर्छ, यस्तो विषयमा केन्द्रको निर्णय लाद्नुहुँदैन । नेताको व्यक्तिगत स्वार्थको लागि, कसैका छोरी, बुहारी जिताउनका लागि गठबन्धन गर्ने कुरा मान्य हुँदैन ।’
कोइरालाले चितवनमा कांग्रेस एक्लै लड्न सक्ने अवस्थामा रहेको दाबी गरेपछि सभापति देउवाले तत्कालै जवाफ फर्काएका थिए । ‘गठबन्धनको विरोध गर्नुस्, तर भोलि जितेर देखाउनुपर्ला, बोल्दाखेरि ख्याल गर्नुहोस्,’ देउवाले भनेका थिए ।
बैठकमा सभापति देउवानिकट नेताहरुले अहिले गठबन्धनको आवश्यकता रहेकोमा जोड दिएका थिए । नेता शेखर कोइराला पक्षका नेताहरुले भने गठबन्धन गरे त्यसबारे निर्णयको अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गर्ने वा नगर्नेभन्दा पनि कांग्रेसले जित मुख्य कुरा भएको बताएका थिए ।
‘हामी गठबन्धन गर्ने वा नगर्ने भनेर छलफल गर्दैछौँ । तर, कांग्रेसले जित्ने अवस्था सुनिश्चित गर्नुपर्ने मुख्य कुरा हो । हामी आफ्नै संगठन बलियो नबनाउने अनि गठबन्धन गरेर मात्रै चुनाव जित्ने भनेर भर पर्ने कुरा राम्रो होइन,’ पौडेलले भनेका थिए, ‘गठबन्धनको अभ्यास पहिले पनि भइसकेको छ, हामीले त्यसबाट धेरै कुरा थाहा पाइसकेका छौँ । त्यसैले गठबन्धन गर्दा पार्टीलाई ज्यादा लाभ हुने गरी गठबन्धन गर्नुपर्ने हुन्छ, र गठबन्धनबारे निर्णय केन्द्रले गर्ने होइन, तल्ला तहबाटै गर्ने व्यवस्था गरौँ ।’
बैठकमा कतिपय नेताहरुले सत्ता गठबन्धन दलसँग मात्रै नभई अन्य दलसँग समेत चुनावी तालमेलको बाटो खुला राख्नुपर्ने बताएका छन् । बैठकमा आवश्यकताअनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने धारणा आएको छ । चुनावी अभियानअन्तर्गत सिन्धुलीमा केन्द्रीय प्रतिनिधिकोरुपमा खटिएकी केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्नका लागि नेकपा एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था पाएको रिपोर्टिङ गरिन् ।
कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पनि कर्णाली प्रदेशका कतिपय जिल्लामा नेकपा माओवादी केन्द्रका विरुद्व एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । ‘अहिले कम्युनिष्टहरु फुटेका छन्, यस्तो बेलामा कांग्रेस एक्लै लड्नु राम्रो हुन्छ,’ उनले भनेका थिए, ‘यदि गठबन्धन नै गर्ने हो भने कर्णालीका कतिपय जिल्लामा एमालेसँग गठबन्धन गरेर माओवादी तह लगाउनुपर्ने अवस्था छ ।’
केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय चुनाव भएकाले त्यसबारे निर्णय लिने अधिकार सम्बन्धित स्थानीय तहलाई दिनु राम्रो हुने बताए । ‘स्थानीय आवश्यकता के हो ? कुन पार्टीको मत कति छ ? अघिल्लो निर्वाचनमा कांग्रेसको अवस्था के हो ? अहिलेको अवस्था कस्तो हो ? ती सबै कुरा प्रष्ट भएरमात्रै गठबन्धनको विषयमा लिनुपर्ने हुन्छ,’ उनले भने, ‘केन्द्रबाट गठबन्धनबारे गरिने निर्णयले ती सबै कुराको सुक्ष्म विश्लेषण हुन सक्दैन, त्यसैले यसबारे निर्णयको अधिकार तल्ला तहलाई दिनु राम्रो हुन्छ । जहाँ जोसँग मिल्न आवश्यक छ, त्यहीअनुसार गर्नु उपयुक्त हुन्छ ।’ उनले यसपटक विगतमाभन्दा पार्टीको संगठनको अवस्थामै धेरै सुधार आएकाले त्यसलाई समेत ध्यानमा राख्नुपर्ने बताए ।
बैठकमा नेताहरुले सभापति देउवाले केन्द्रबाट गठबन्धन गर्ने निर्णय गरेर तल्ला तहमा लाद्न खोजेको भन्दै विरोध समेत गरेका थिए । तर, प्रवक्ता प्रकाशसरण महतले भने सभापति देउवाले त्यसरी कुनै पनि निर्णय लाद्ने प्रयास नगरेको दाबी गरे । ‘सभापति देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो हो, त्यसबारे भर्खर त छलफल सुरु हुँदैछ,’ उनले भने, ‘प्रदेशहरुबाट फरक फरक सुझावहरु आउनेक्रम छ, केन्द्रीय समितिमा व्यापक छलफलपछि हामी यसबारे एउटा निर्णयमा पुग्छौँ, जे निर्णय आएपनि कांग्रेसले त्यो सर्वसम्मत निर्णय गरेर ल्याउँछ ।’
उनले शुक्रबारको छलफलका क्रममा नेताहरुले आवश्यकताको सिद्धान्तलाई आधार बनाएर गठबन्धन गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । ‘बैठकले जे निष्कर्ष निकाल्छ, पार्टीले त्यही निर्णय लिन्छ, त्यही निर्णयअनुसार सभापतिजी अघि बढ्नुहुन्छ, हाम्रो पार्टी एकढिक्का भएर चुनावमा होमिएको छ,’ उनले भने ।
अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।