राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी


काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार रेल्वे अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले नेपाल रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटो खुला भएको छ । अब केही हप्तामै रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीको तयारी छ ।
जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएको पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल चलाउनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आमनागरिकको चासो बढेको छ । वर्षाैँदेखि बहुप्रतिक्षित रेलमा यात्रा गर्न आमनागरिक प्रतिक्षामा बसिरहेका छन् ।