सुदूर पश्चिमेली समाज भिक्टोरियाले नेपाली नयाँ वर्ष तथा ‘बिसु पर्व’ मनाउने

सुदूर पश्चिमेली समाज भिक्टोरियाले नेपाली नयाँ वर्ष तथा ‘बिसु पर्व’ मनाउने


मेलबर्न अष्ट्रेलिया ।

फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरियाले नेपाली नयाँ वर्षमा तथा ‘विसु पर्व’ मनाउने भएको छ। सोसाईटीले सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व अप्रिल १४ तारिख मेलबर्नको स्टोनिया हाउसमा मनाउन लागेको हो। 

कार्यक्रममा किड्स फेस पेन्टिङ, सांस्कुतिक प्रस्तुति, नित्य, देउडाका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने सोसाईटीका उपाध्यक्ष दिप चन्दले जानकारी दिए। साँझ ५ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १० बजेसम्म चल्ने उपाध्यक्ष चन्दले बताए। कार्यक्रममा सहभागीलाई सफ्ट ड्रिंक तथा खानाको पनि व्यवस्था गरिएको यस कार्यक्रममा संयोजकसमेत रहेका चन्दको भनाइ छ। 

सोसाईटीका अध्यक्ष नरेश रावलले विदेशी भूमीमा रहेर पनि आफ्नो मौलिकता बोकेको बिसु पर्वको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरेकाले भिक्टोरियामा बसोबास गर्ने नेपालीवासीलाई उपस्थितिका लागि आग्रह गरेका छन्। उनले कार्यक्रमको स्पोन्सरका लागि पनि भिक्टोरियावासी नेपाली व्यवसायीलाई अपिल गरेका छन्। 

सोसाईटीले आयोजना गरेको ‘बिसु पर्व’ विशेष कार्यक्रमलाई एनआरएनए भिक्टोरिया, न्याभ, एएनएमसी, भिक्टोरिया राज्य सरकार र भिक्टोरियन मल्टिकल्चरल कमिसनले सघाएको छ। 

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाइँदै आएको छ। हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रूपमा मनाउने गर्दछन्। 

बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने जनविश्वास छ। देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ।