दुई घण्टा सम्पर्कबिहीन भएको श्रीएयरको जहाज भैरहवामा आपतकालिन अवतरण

दुई घण्टा सम्पर्कबिहीन भएको श्रीएयरको जहाज भैरहवामा आपतकालिन अवतरण


काठमाडौं ।

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ। बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।

२ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौंमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपतकालीन अवतरण गरिएको श्रीएयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले जानकारी दिएका छन्। जहाज काठमाडौमा अवतरण गर्न नसकेपछि ९ः३४ भैरहवामा आपतकालीन अवतरण गरिएको शाहीले बताए।

काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए। अढाई घण्टासम्म जहाज सम्पर्कबिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु अतालिएका थिए। धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो।

यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए। कोटेश्वर नजिकबाट बिमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो।