एक हजारभन्दा बढीको सहभागितामा सिड्नीमा एनआरएनको अभिभावक पिकनिक सम्पन्न

एक हजारभन्दा बढीको सहभागितामा सिड्नीमा एनआरएनको अभिभावक पिकनिक सम्पन्न


सिड्नी, अष्ट्रेलिया ।  

गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्सले नेपालबाट विभिन्न सिलसिलामा सिड्नी आउनुभएका अभिभावक लक्षित वनभोज कार्यक्रम सम्पन्न गरेको छ। सिड्नीबाट दुई सय किलोमिटरको दुरीमा रहेको न्युक्यासलमा उक्त वनभोज कार्यक्रम हजार जनाभन्दा बढीको सहभागितामा सम्पन्न भएको हो। 

अभिभावकलाई विदेशमा पनि स्वदेशीपन र नेपाली मनले रम्न र रमाउन र एक-आर्काबीच चिनजान बढाउने उद्देश्यले अभिभावक वनभोजको आयोजना गरिएको एनआरएन एनएसडब्लु उपसंयोजक दिपा जोशीले जानकारी दिइन्। अभिभावकका लागि २५ अष्ट्रेलियन डलर र अभिभावकसँग जान चाहने परिवारका अन्य सदस्यका लागि ५० अष्ट्रेलियन डलर शुल्क तोकिएको थियो।  २५ डलरमा अभिभावकलाई  जुस बिस्कुट, ब्रेकफास्ट र लन्चको समेत व्यवस्था गरिएको कार्यक्रमकी संयोजक समेत रहेकी जोशीले जानकारी दिइन्। 

नेपालबाट विभिन्न सिलसिलामा आफ्ना छोराछोरी भेट्न आएका आमाबुबाको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक वर्ष अभिभावक पिकनिक आयोजना गर्ने गरिएको छ। सिड्नीमा यस किसिमको कार्यक्रम भएको यो छैठौं पटक हो। एनआरएनए एनएसडब्लुको सिग्नेचर प्रोग्रामको रूपमा स्थापित अभिभावक पिकनिकमा यो सहभागिता अहिलेसम्मकै उच्च हो । संयोजक जोशीले नेपालमा समेत भेट नभएका साथीभाइ र आफन्तजन यहाँ एकै ठाउँमा भेट्न पाउँदा अभिभावकहरूले खुसी व्यक्त गरेको जानकारी दिइन्। एनआरएनए न्यूसाउथवेल्स एससीसी मेम्बर रोजा प्रधानको नेतृत्वमा रहेको मेडिकल टिमले पिकनिकमा सहभागी भएका अभिभावकहरुलाई स्वास्थ्य परीक्षण सेवा दिएको थियो। जसमा हेल्थ पोजेटिभ फार्मेसी लिभरपुलले साथ दिएको थियो। पिकनिक कार्यक्रममा एलिना ताम्राकारले अष्ट्रेलिया बसाईको क्रममा गर्नुपर्ने फोहोर व्यवस्थापनका विषयमा जानकारी दिएकी थिइन्।  

संयोजक जोशीले सहभागी अभिभावक, उनीहरुका परिवारका साथै यसमा प्रायोजन गरी साथ दिने व्यवसायीहरुलाई पनि धन्यवाद दिएकी छिन्। फोटोग्राफीमा सुजन श्रेष्ठ, मनोरञ्जनमा महेश प्रसाईँ, न्युक्यासलको अवतार रेष्टुरेन्ट, नौ सय बढी ब्रेड दिएर सहयोग गर्ने बिजय फुयाँल, न्युक्यासलको टिम बाबुराम, सुदिप पौडेल, अमर रसाईली र बीर राई लगायत स्वयंसेवीको सक्रियताले नै कार्यक्रम सफल बन्न सकेको जोशीको धारणा छ।  

कार्यक्रममा केही दिनअघि गोल्डेन जुब्ली अवार्डबाट सम्मानित भएका डा नारायण प्रधान र इन्द्रा वन, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, एनआरएन एनएसडब्लुका संयोजक विनोद कुँवर, एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकमा दिनेश पोखरेल, पत्रकार हेमन्त काफ्ले लगायतको उपस्थिति रहेको थियो।