काठमाडौँ । पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले आइपिएल २०२४ को आगामी सिजनअघि बिहीबार स्टार ओपनर ऋतुराज गायकवाडलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ।
यो निर्णयले सिएसकेको नेतृत्वमा रहेको एमएस धोनीको लामो शासनको अन्त्यको सङ्केत गर्दछ। आफ्नो नेतृत्वमा धोनीले पाँच वटा आइपिएल दिलाएका थिए।
“एमएस धोनीले आइपिएल २०२४ सुरु हुनुअघि सिएसकेको कप्तानी ब्याट्सम्यान ऋतुराज गायकवाडलाई हस्तान्तरण गर्नुभयो, ऋतुराज सन् २०१९ देखि सिएसकेका अभिन्न अङ्ग हुनुहुन्छ र उहाँले यस अवधिमा आइपिएलमा ५२ खेल खेल्नुभएको छ”, सिएसकेले बिहीबार आधिकारिक विज्ञप्तिमार्फत भनेको छ।
धोनीले २१२ आइपिएल खेलमा सिएसकेको नेतृत्व गरे। यसमा १२८ खेलमा जित र ८२ मा पराजित भए। सन् २००७ को टि–२० विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा टिमलाई उपाधि दिलाएपछि धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे।
गत वर्ष धोनीको नेतृत्वमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध चेन्नाई फ्रेन्चाइजीले कीर्तिमानी पाँचौँ आइपिएल उपाधि जितेको थियो। बयालिस वर्षीय धोनी भारतीय क्रिकेटका सबैभन्दा प्रशंसित अनुहारमध्ये एक हुन् र वर्तमान केही क्रिकेट स्टारका तुलनामा प्रशंसकहरूबाट आनन्द लिइरहेका छन्। सन् २००८ मा आइपिएलको उद्घाटन सत्रदेखि नै उनले चेन्नाईको कप्तानी गरेका छन्।
उनले सन् २०२२ सिजनको प्रारम्भमा स्टार अलराउन्डर रवीन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गरेका थिए तर सिजनको मात्र आठ खेलपछि पुनः फ्रेन्चाइजीको नेतृत्व गरे।
विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) आजदेखि सुरु हुँदै छ। आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने हुने छन्।
प्रतिक्रिया