जिप दुर्घटना अपडेट : आठको मृत्यु, सबैको सनाखत

जिप दुर्घटना अपडेट : आठको मृत्यु, सबैको सनाखत


काठमाडौँ ।

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई छन्।

यसैगरी, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किसन राईको सनाखत भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका ९ जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। भोजपुरको घोडेटारबाट धरान जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे मैनामैनीमा सडकबाट करिब चार सय तल खसेको थियो।

त्यसक्रममा ७ जनाको घटनास्थलमै तथा एकजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।