इलाम-२ उपनिर्वाचन : झलनाथ खनालको चर्चा

इलाम-२ उपनिर्वाचन : झलनाथ खनालको चर्चा


काठमाडौँ ।

वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ।

खनाल स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा उम्मेद्वार बन्ने सम्भावनाको संकेत गरेका छन्। आफू आफ्नो दलको मात्र नभइ सबै वामपन्थीको साझा उम्मेदवार बनेर आउने सम्भावना रहेको उनले गृहजिल्लाका सञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन्।

उम्मेदवार बन्नेबारे अरू दलसँग पनि छलफल भइरहेको उनले उल्लेख गरेका छन्। काठमाडौँमा रहेका खनालले उम्मेदवार बन्ने निश्चित भए सबै वामपन्थी दलका तर्फबाट बन्ने बताएको इलामका सञ्चारकर्मी भीम चापागाईंले बताए।

आफूलाई आफ्नै दल र अरु वामपन्थी दलका नेता तथा कार्यकर्ताले उम्मेद्वार बन्न आग्रह गरिरहेको उनले बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो उम्मेदवारीबारे कुरा भइरहेको खनालले उल्लेख गरेका छन्।

तीन दशकयता इलाम क्षेत्र नम्बर १ बाट पटक पटक विजयी बन्दै आएका खनाल २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए। त्यसबेला एमालेबाट अलग्गिएका उनी एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग २ हजार ६ सय ६४ मतले पराजित थिए । बस्नेतले २५ हजार सात सय ५३ पाएका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पाटी सम्मिलित गठबन्धन बनेको छ।

गठबन्धनका दलले उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्लाबेग्लै उम्मेदवार दिने भन्ने निणर्य गरिसकेका छैनन्। गठबन्धनमा आबद्ध दल रास्वपाले भने उम्मेदवारी दिने जनाइसकेको छ।

यसैबीच, नेकपा एमालेबाट इलाम(२ मा उम्मेदवार बन्न ६ आकांक्षीहरु देखिएका छन् । उनीहरुले उम्मेदवार बन्ने इच्छासहित पार्टीमा निवेदन दिइसकेका छन्। त्यसरी निवेदन दिनेहरुमा सुहाङ नेम्वाङ (सुवा नेम्वाङका छोरा), देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धि खनाललगायत छन्।

आकांक्षीहरुको नाम पार्टी जिल्ला कमिटीले केन्द्रमा पठाउने र चैत १५ गतेभित्र पार्टीले एकजनाको नाम टुंगो लगाउने जनाइएको छ। इलाम–२ मा २०७९ सालको निर्वाचनमा एमालेका नेता सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए। नेम्बाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र खाली भएको हो।