प्रचण्डले सुनाए कांग्रेसबाट भएको धोकाको फेहरिस्त

प्रचण्डले सुनाए कांग्रेसबाट भएको धोकाको फेहरिस्त


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई दिएको वचनमा विश्वासघात गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभामार्फत विश्वासको मत लिनेक्रममा उनले धोकाको आरोप कांग्रेसले लगाउन नमिल्ने बताए । उनले भने,‘मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।’

सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका नेताहरुले अराजनीतिक व्याख्या गरेकोप्रति आक्रोश व्यक्त गर्दै प्रचण्डले आफूमाथि निजी आक्षेप र आक्रमण भएको बताए ।

नेपाली कांग्रेसका नेताहरुले आफूलाई संसदकै रोष्टममा उभिएर राजनेता भनेको स्मरण गर्दै प्रधानमन्त्रीले भने,‘साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ,’ उनले भने,‘निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुनसक्छ ।’

विगतमा नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको उनले उल्लेख गरे।

‘मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो,’उनले आक्रोश थियो।

प्रधानमन्त्री प्रचण्डले माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन भन्ने प्रश्न पनि गरे ।

कांग्रेस महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका भएको उल्लेख गर्दै प्रचण्डले राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्ने बताए ।