राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज


काठमाडौँ ।

संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ। तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो। मंगलबार विहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष चयनका लागि मतदान गर्ने कार्यसूची रहेको छ।

सभाको अध्यक्षका लागि सोमबार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन्।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ रहेका छन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। यस्तै, गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निणर्यार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन्। एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन्। राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन्।

भने विपक्षी गठबन्धनमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन्।