नारी निकुञ्ज अष्ट्रेलियाले मनायो मेलबर्नमा अन्तर्राष्ट्रिय नारी दिवस

नारी निकुञ्ज अष्ट्रेलियाले मनायो मेलबर्नमा अन्तर्राष्ट्रिय नारी दिवस



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया अन्तर्गतको नारी निकुञ्जले अन्तर्राष्ट्रिय नारी दिवस मेलबर्नमा भव्यताका साथ सम्पन्न गरेको छ। अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनीहरुले आफ्ना अधिकारको विषयमा आवाज बुलन्द मात्र गरेनन् विभिन्न सांस्कृतिक प्रस्तुतिका बीच समानताको आवाज समेत उठाएका छन्।

कार्यक्रममा बोल्दै राजदूत पोखरेलले सहअस्तित्वको भावनाबाट मात्रै परिवार, समाज र राष्ट्र बन्नसक्ने धारणा राखेका थिए । पत्नी बसुधा पोखरेलका साथ कार्यक्रममा सहभागी हुन आएका राजदूत पोखरेलले नारी निकुञ्जलाई सफल कार्यक्रम आयोजनाका लागि धन्यवाद पनि दिएका थिए ।

उक्त अवसरमा भिक्टोरियाको बहुसांस्कृतिक आयोगकी आयुक्त सिल्भिया कुम्बे, यानयिन लेजिस्लेटिभ एसेम्बलीकी सदस्य लाउरेन काथंगे, मेरिबेक सिटी काउन्सिलकी काउन्सिलर सु बोल्टन, फिलिपिनो महिला समूदायकी अध्यक्ष नेस गुभान्जो र अष्ट्रेलियन लेबर पार्टी ब्रोडमेडोज शाखाका सभापति प्रविन कुमार लगायतले शुभकामना दिँदै समूदायमा रहेको विभेदलाई हटाउन सबैको प्रयत्न आवश्यक रहेको बताएका थिए । उनीहरुले नारी दिवसको शुभकामना दिँदै एकताबद्ध भएर नारीमा लगानीले परिवारकै भविष्यलाई उज्यालो बनाउने धारणा राखेका थिए ।

कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेल, महासचिव सन्तोष कुँवर, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोताने, एनआरएन भिक्टोरिया संयोजक मनिरत्न सापकोटा, लगायतले शुभकामना मन्तव्य राखेका थिए।

उक्त अवसरमा उपस्थित अतिथिहरुलाई कार्यक्रमक एवं भिक्टोरिया नारी निकुञ्जकी संयोजक राशीसिंह ठकुरीले स्वागत गरेकी थिइन् भने उपस्थित सबैलाई नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चापागाईंले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा जेनिशा पुन, युनिशा ज्ञवाली, रीशा खड्का, रिजु पौडेललगायतले नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा रिजु पौडेलले महिनावारीका बेला किशोरीहरुको मानसिक स्वास्थ्यमा पार्ने असरबारे घारणा राखेकी थिइन्। उक्त अवसरमा बोल्ने अधिकांश वक्ताले पारिवारिक हिंसा अन्त्य, सामाजिक कार्यहरुमा महिलाको सहभागिता अभिबृद्धि, अधिकारबाट बञ्चितहरुको उत्थानका निम्ति गर्न सकिने कार्य लगायतको चर्चा गरेका थिए। कार्यक्रममा सहभागी हुन पर्थ, ब्रिसबेन, होबार्ट, सिड्नी लगायतका ठाउँबाट नेपाली महिलाहरु आएका थिए।