सरकारमा मन्त्रालयको लाग्यो टुंगो, साँझ ५ बजे सपथग्रहण !

सरकारमा मन्त्रालयको लाग्यो टुंगो, साँझ ५ बजे सपथग्रहण !


काठमाडौं । एक्कासी फेरिएको गठबन्धनले तिव्र वेगमा मन्त्रीमण्डलको गठन गरेको छ । हिजा तीन मन्त्रीको सपथ गरेर पुरानो सरकारमा रहेका काँग्रेससहितका सबै मन्त्रीलाई बिदा गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा समेत सकाएर साँझ ५ बजे सपथग्रहण गर्ने तयारी गरेका छन् । यस पटकको सरकारमा माओवादीको नेतृत्व अध्यक्ष प्रचण्ड आफैंले गर्दैछन् भने एमालको तर्फबाट सचिव रघुवीर महासेठ सरकारमा एमालेको नेतृत्व गर्दै सहभागी हुने भएका छन् ।

एमालले आठ मन्त्रालय पाउनेछ । माओवादीले प्रधानमन्त्रीसहित परराष्ट्र र अर्थमन्त्रालयको जिम्मेवारी लिँदैछ । अर्थमन्त्रीका रुपमा वर्षमान पुन र परराष्ट्रमा यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् । अन्यमा सञ्चारमा रेखा शर्मा, जलश्रोतमा शक्ति बस्नेत नै दोहोरिनेछन् ।

हिजो हितमान तामांगले विनाविभागीय मन्त्रीमा सपथ लिएका थिए । अब उनले पर्यटन मन्त्रालय सम्हाल्नेछन् । माओवादीले पाँच मन्त्रालयका नेतृत्व गर्नेछ । यस्तै रास्वपाले गृहसहित चार मन्त्रालय पाउँदैछ । सभापति रवि लामिछाने आफैं गृह मन्त्रालयको नेतृत्वमा जाने भएका छन् । अन्य मन्त्रीहरुमा सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ र डीपी अर्याल जाँदैछन् । अर्यालले यसअघि नै मन्त्रीको सपथ लिइसकका छन् ।

यता माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दुई मन्त्रालय लिएर सहभागी हुने भएको छ । जनता समाजवादीको तर्फबाट कुनै निर्णय आएको छैन । पार्टीभित्र सरकारमा जान नहुने मत पनि रहेका कारण अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री पठाउन सकस परेको छ । यससँगै सरकारलाई पाँच दलको साथ हुने भएको छ । यस गठबन्धनबाट विभिन्न प्रदेशमा समेत सरकार बनाउन सहज परिस्थिति बनेको छ ।

एमालको तर्फबाट

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा