कांग्रेस अब सशक्त प्रतिपक्षीको भूमिकामा’

कांग्रेस अब सशक्त प्रतिपक्षीको भूमिकामा’


काठमाडौं ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको गठबन्धन फेरबदलको निर्णयले अस्थिरता र अन्योललाई बढावा दिने टिप्पणी गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताए।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डको गठबन्धन फेरबदल गर्ने निर्णयले थप अस्थिरता र अन्योललाई बढावा दिएको छ। अब हामी सशक्त प्रतिपक्षीको भूमिका खेल्छौं। आम जनता र पार्टी पंक्तिलाई दृढताका साथ उभिने र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँछौं।’

प्रधानमन्त्री दाहालले गठबन्धन फेर्नुको मुख्य कारण कांग्रेसका मन्त्रीहरुको कार्यसम्पादनलाई देखाएको भन्दै महतले त्यसमा कुनै सत्यता नरहेको उललेख गरे।

उनले भने, ‘जसरी गठबन्धन बस्न सकिँदैन भनेर बुँदाहरु अघि सार्नुभएको छ, त्यो सबै कपोलकल्पित हो। त्यसमा कुनै आधार छैन। यो गठबन्धन जारी रहन्छ भन्दै भित्रभित्रै छल गर्नुभयो। त्यसको चाहिँ कारण होला। तर हामी कारण होइन। नेपाली कांग्रेस र हामी कोही पनि मन्त्री कुनै पनि आधारमा कारण होइन । यो बहाना मात्रै हो। कपोलकल्पित हो। यसमा कुनै सत्यता छैन।’