गठबन्धनप्रति प्रचण्ड सतर्क, भन्छन् : ‘प्रयोग गर्न नखोजियोस्’

गठबन्धनप्रति प्रचण्ड सतर्क, भन्छन् : ‘प्रयोग गर्न नखोजियोस्’


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले आफूलाई प्रयोग गर्न खोजे गठबन्धनबाट निस्किन सक्ने बताएका छन्। कांग्रेससँग सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएका उनी नयाँ गठबन्धनप्रति सतर्क देखिएका छन्।

राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफू मुलुकका श्रमिक जनता, सहिद र राष्ट्रप्रति इमान्दार रहेको दाबी गरे। आफ्नो इमान्दारितालाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि बेला गठबन्धन छाड्ने उनले चेतावनी दिए।

उनले भने, ‘मेरो नेतृत्वको आन्दोलनलाई प्रतिक्रियावादीहरुले अविश्वसनीय, के हुन्छ भनेर भन्न नै नसक्ने भनेर भन्छन् । तर, म त्यस्तो होइन । म नेपालका श्रमिक जनता, महान सहिदप्रति र नेपाल राष्ट्रप्रति अनुमानित गर्न सक्ने नै छु। उनीहरुप्रति इमान्दार हुने कुरामा निरन्तर कायम छु तर प्रतिक्रियावादीले मलाई उपयोग गर्न खाजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लिन सक्छु। त्यसकारण उनीहरुको लागि म विश्वसनीय छैन, हुने पनि छैन । आजको दिन हरेक दृष्टिकोणले नयाँ क्रमभंगको दिन बन्न गएको छ।’

समुचित र वैज्ञानिक परराष्ट्रनीति अवलम्बन गर्न नसके नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्ने भन्दै उनले सबै गम्भीर हुन आवश्यक भएको भनाइ राखे।

उनले भने, ‘नेपालको राजनीतिमा जुन खालका प्रयासहरु छन्, प्रतिगमनकारी भन्छौ हामी प्रतिक्रियावादी, अवसरवादी, विदेशीप्रभुत्ववादी, जे भने पनि ती सबैको दबाब सबैतिर भएको छ। नेपाल जस्तो भूराजनीतिक अवस्थामा छ, हामीले समुचित र वैज्ञानिक परराष्ट्रनीति अबलम्बन गर्न सकेनौ र नेपाली जनतासँग एकाकार गर्न सकेनौ भने नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्छ। त्यसकारण हामी सबै गम्भीर हुन आवश्यक छ।’

कम्पुयनिष्टका आदर्शहरुका कुराले मात्रै सधैं नचल्ने भएकाले देश, काल परिस्थितिअनुसार इमानदार प्रयास आवश्यक रहेको उनले बताए। ‘हामीले लेलिनको कुरा गर्छौ, माओको कुरा गर्छौ। उनीहरु हिँडेको बाटो सोझो थियो राजमार्ग जस्तो सिधै। अनि मानिस दुईवटा खुट्टाले हिन्नुपर्छ कहिले दायाँ, कहिले बायाँ, बायाँ गयो भने बायाँ बायाँ, दायाँ गयो भने दायाँ दायाँ यस्तो पनि हुन्छ। त्यो माक्र्सवाद हो होइन, गन्तव्यमा पुग्नको लागि दुवै खुट्टाले हिँड्न आवश्यक हुन्छ।’ उनले भने।

सत्ता टिकाउन नयाँ समीकरणप्रति ढुक्क देखिएका दाहालले पुरानो गठबन्धनले आफू दबाबमा परेको संकेत गरेका थिए।