प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार बन्दै

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार बन्दै


काठमाडौं ।

माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति गरेको छ।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजनमा आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा यस्तो सहमति बनेको माओवादी केन्द्रका महेश्वर दाहालले जानकारी दिए।

नयाँ मन्त्री मण्डलमा माओवादीको वर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मा दिने सहमति भएको छ। पुन पहिला पनि अर्थ मन्त्री भैसकेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले गृह मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ भने जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्रको जिम्मेवारी दिईने भएको छ। यसअघि पनि गृह पाएका लामिछाने चर्को विवादमा परेपछि मन्त्रीबाट हटेका थिए।

त्यसैगरी, एमालेका प्रमुख सचेतक पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिईन भएको सूत्रले जनाएको छ। प्रधानमन्त्री दाहाल र नेता पुन माओवादीबाट बैठकमा सहभागी थिए भने एमालेका अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल थिए। त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए।

बैठकमा प्रधानमन्त्री दाहालले केहीबेर अघिसम्मको गठबन्धनको सहयात्री दल नेपाली कांग्रेसलाई सरकारबाट हट्न नभन्ने तर उसको धारणा बुझेपछि मात्र थप निर्णय गर्ने भनेर अरु दलका नेतालाई भनेका थिए।

आजका संसद बैठक स्थगित भएपछि राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ ग्रहण कार्यक्रम समेत सरेको छ भने सभाको नयाँ अध्यक्षको निर्वाचन पनि नयाँ राजनीतिक समीकरण अनुसार हुने निश्चित भएको छ। सरकार गठनमै दलहरु व्यस्त रहेकाले संसदका कार्यक्रमहरु अनिश्चित बनेका हुन्।