नेपाली पाठशाला भेट्रान कपको उपाधि एडिलेड खुकुरी क्लवले जित्यो

नेपाली पाठशाला भेट्रान कपको उपाधि एडिलेड खुकुरी क्लवले जित्यो


एडिलेड, अष्ट्रेलिया । नेपाली पाठशाला भेट्रान कप २०२४ को उपाधि एडिलेड खुकुरी फुटबल क्लव (एकेएफसी)ले जितेको छ। बुरागाह रिभर्भको खेल मैदानमा भएको फाइनल खेलमा एकेएफसीले आयोजक नेपाली पाठशालाको टिमलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो। 

खेलमा एकेएफसीका बिक्रम प्रसाईले गरेको गोल नै निर्णायक बन्यो। यसअघि भएको सेमिफाइनल खेलहरूमा एडिलेड खुकुरी फुटबल क्लवले ८८४८ रोएल्स फुटबल क्लवलाई हराउँदै फाइनलमा पुगेको थियो भने नेपाली पाठशालाले एडिलेड खुकुरी फुटबल क्लवको फरएभर योङ टिमलाई हराउँदै फाइनलमा पुगेको थियो।

प्रतियोगिताको उपविजेता बनेको नेपाली पाठशाला फुटबल टिम

प्रतियोगितामा भेट्रान (३५ बर्ष माथी)को समूहमा ६ टिम सहभागी थिए। प्रतियोगिता उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता एडिलेड खुकुरी फुटबल क्लवका बिक्रम प्रसाई भए। भने उत्कृष्ट गोल रक्षक नेपाली पाठशालाका नविन लम्साल घोषित भए।

यसै प्रतियोगिताको बिचमा बालबालिकाहरू तर्फको खेलमा नेपाली पाठशालाको टिमले एडिलेड नेपाली विद्यालयको टिमलाई १–० पछाडि पार्दै विजेता भएको थियो। प्रतियोगिताकै बिचमा भएको ४५ बर्ष उमेर माथिको समूहको खेलमा एडिलेड साउथ क्षेत्रको टिमले नर्थ क्षेत्रको टिमलाई १–० ले पराजित गरेको थियो। 

नेपाली पाठशालाका खेलकुद प्रमुख तथा कार्यक्रमका संयोजक राजिब बस्नेतले खेलकुद प्रतियोगिता मात्र नभएर स्वास्थ्यका लागि पनि जरुरी हुने भएकाले सबै उमेरमा खेलकुदलाई जारी राख्नु पर्छ भन्ने मान्यता रहेको बताए। नेपाल र अष्ट्रेलियामा समेत विगतमा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरू एडिलेडमा भएकाले उहाँहरुलाई उत्साह भर्न र खेललाई निरन्तरता दिन प्रेरित गर्न समेत प्रतियोगिता आयोजना गरिएको उनले बताए। 

नेपाली पाठशालाका अध्यक्ष अंकुर उपाध्यायले भेट्रान कपको तेस्रो संस्करण सम्म आई पुग्दा प्रतियोगिता सफल पार्न मुख्य भूमिका खेल्ने खेलाडी, अफिसियल, स्वयंसेवक, सौजन्यकर्ता र सबै सहयोगीहरूमा धन्यवाद र आभारी रहेको बताए।