पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता

पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता


काठमाडौं, ३ चैत । अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १७ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।
नवलपरासी पूर्वको एक रिसोर्टमा ७ चैत २०७७ मा आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन् । तनहुँमा भने प्रहरी अनुसन्धानकै क्रममा छ । अदालतमा मुद्दा परिसकेको छैन ।