एनआरएन जापान क्षेत्रीय समिति नागोयाले निःशुल्क अनलाइन जापानी भाषा कक्षा सञ्चालन गर्ने

एनआरएन जापान क्षेत्रीय समिति नागोयाले निःशुल्क अनलाइन जापानी भाषा कक्षा सञ्चालन गर्ने


टोकियो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति नागोयाले निःशुल्क अनलाइन जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ। एनआरएनए जापानको संयोजनमा  नागोया क्षेत्रीय समितिले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्न लागेको हो। 

जापानका ११ वटै क्षेत्रीय समितिको सहयोग रहेको निःशुल्क जापानी भाषा कक्षाका लागि गुगल फारममार्फत ३ सय ५२ जनाले आवेदन दिएको एनआरएन नागोया क्षेत्रीय संयोजक भेषनाथ गौतमले जानकारी दिए। मार्च ९ देखि आवेदन दिएकाहरूलाई विभिन्न समूहमा विभाजन गरी हप्ताको दुहिदिन जापानी भाषा कक्षा सञ्चालन गर्न लागिएको उनको भनाइ छ। 

सामान्य जापानिज भाषा नजानेको कारण दैनिक जीवन यापनमा कठिनाइ भोगिरहेका जापानबासी नेपालीलाई सहयोग पुर्याउने उद्देश्यले अनलाइन निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्न लागेका हौ। विशेष गरी कुक भिसा, डिपेण्डेण्ट भिसा लगायत अन्य भिसामा जापान बसोबास गर्दै आउनु भएको जापान बासी नेपालीहरूलाई अनलाइन मार्फत निःशुल्क जापानी भाषा कक्षाले दैनिक जीवनयापनमा थप सहयोग पुर्‍याउने छ, संयोजक गोतमले भने। 

निःशुल्क जापानी भाषा कक्षा संचालनलाई व्यवस्थित मर्यादित र सिकाइलाई प्रभावकारी बनाउन र कक्षा सञ्चालनको ग्रुप विभाजन लगायतका बारेमा आवश्यक छलफल गर्ने गरी गुगल फारम भरेकाहरू बिचमा मार्च २ तारिख अनलाइन सेमिनार गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समिति नागोया सचिव तथा अनलाइन मार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन समितिका संयोजक प्रतीक कार्कीले जानकारी दिए।

मार्च २ तारिख बेलुका ७ बजेबाट भर्चुवल जुममार्फत हुने सेमिनारका लागि Meeting ID: 448 917 र Passcode: 1983 रहेको कार्कीले जानकारी दिए।

जापानी भाषा कक्षा सञ्चालनका लागि भानु पूरी नागोया, नवराज चापागाईँ नागोया, केशव लामिछाने क्युस्यू, सन्दिप बुढ़ाथोकी नागोया, बिविता सिटौला नागोया, तिर्थनाथ सापकोटा नागानो, अशोक पौडेल सेन्दाइ, सन्दिप जिसी सेन्दाइ, बिनोद चन्द सेन्दाइ,अमृत सुवेदी सेन्दाइ र यम प्रसाद खनाल ओकिनावाले सहजिकरण गर्नेछन्। 

निवर्तमान क्षेत्रीय समिति नागोयाले नागोया केन्द्रित निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गरेको अनुभवलाई आत्मसात् गरी जापानमा रहेर पनि जापानी भाषाको समस्या भोगिरहेका नेपालीलाई सहयोग पुर्याउन हाल एनआरएनए जापानको सहयोग र सबै क्षेत्रीय समितिको आवश्यक समन्वय र सहकार्यमा एनआरएनए जापान नागोयाले निःशुल्क जापानी भाषा कक्षा संचालन गरेर प्रशंसनीय कार्य गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए।