सिड्नीको गोल्ड फक्स एजुकेशनले हालेको थियो ‘नक्कली पुजारी’को भिसा आवेदन

सिड्नीको गोल्ड फक्स एजुकेशनले हालेको थियो ‘नक्कली पुजारी’को भिसा आवेदन


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघको लेटरप्याडमा अध्यक्ष अनील पोखरेलको हस्ताक्षरसहितको सिफारिशपत्र संलग्न गरी अध्यागमन कार्यालयमा चितवनका एक युवकलाई नक्कली पूजारी बनाई ल्याउन भिसा हाल्ने सिड्नीको एक कन्सल्टेन्सी भएको खुलेको छ । उनको भिसा गोल्ड फक्स एजुकेशन कम्पनीबाट हालिएको थियो । अष्ट्रेलियाको विजनेस दर्ता गर्ने निकाय एसिकको रेकर्ड अनुसार गोल्डफक्स एजुकेशनले अष्ट्रेलियन प्यासिफिक ईभेन्ट म्यानेजमेन्ट कम्पनी र पर्फेक्ट च्वाईस एजुकेशन एण्ड माईग्रेसनको नाममा समेत कारोबार गर्ने गरेको भेटिएको छ । केविसीखबरले गरेको अनुसन्धानमा यस कम्पनीको सञ्चालक बुटवल घर भई हाल सिड्नीमा बसोबास गर्दै आएका प्रदिप ज्ञवाली रहेको खुलेको छ ।

अष्ट्रेलिया आउनका लागि प्रयास गरिरहेका अनिस सापकोटा (नाम परिवर्तित) को भिसा जनवरी ३१ तारिखमा अस्वीकृत भएको थियो । ज्ञवालीको विश्वासमा रहेका उनले आफ्नो रिजेक्सन लेटर माग गरे । तर, कुनै जवाफ आएन । मुख्यत निजहरुबीच लेनदेनमा विवाद भएको देखिन्छ । विवाद सुल्झन नसकेपछि उनले अष्ट्रेलियामा रहेका आफ्ना साथीलाई यो समस्या सुनाए ।

को हुन् ज्ञवाली ?

अष्ट्रेलियामा अध्ययनका लागि आएका प्रदिप ज्ञवाली छोटो समयमा नै विभिन्न व्यवसाय र कार्यक्रमहरुमा हात हालेका व्यक्ति भएको खुलेको छ । उनले सिड्नीमा रहेको अष्ट्रेलियन प्यासिफिक ईन्टरनेशनल कलेज एपीआईसीमा मार्केटिंग अफिसर भएर काम गरेका थिए । केही समय अघि नेपालका स्टार सेफ सन्तोष साहको अष्ट्रेलिया भ्रमणको बेला निकै चल्तापूर्जा देखिएका प्रदिपले आफु कलेजको मार्केटिंगमा काम गर्ने गरेको फेसबुक स्ट्याटसमा समेत राखेका थिए ।

हामीले कलेजका सञ्चालक मध्येका एक एनआरएनका पूर्वअध्यक्ष गणेश केसीसँग यस विषयमा सम्पर्क गरेका थियौं । फोन सम्पर्कमा आएका केसीले ज्ञवालीले आफ्नो कलेजमा काम गरेको पुष्टि गरे । हामीले कलेजको फेसबुक पेजमा पनि निजलाई मार्केटिंग म्यानेजरको रुपमा स्वागत गरिएको तस्वीर फेला पार्यौ । (हेर्नुहोस् कलेजको फेसबुक पेजमा २२ नोभेम्बर २०२२ मा निजलाई मार्केटिंग म्यानेजरको रुपमा केसीले स्वागत गरेको तस्वीर भेट्न सकिन्छ ।)

केविसीखबरसँग कुरा गर्दै केसीले आफुले केही समय अघि निजलाई कलेजबाट हटाएको दावी गरेका छन् । “अलि बढी जान्ने हुन खोज्ने रहेछ । मार्केटिंगमा जाने तर क्लाईन्टलाई नै सिकाउने गरेको सिकायत आयो । चार पाँच महिना काम गर्यो होला । हटाइसकेपछि मेरै पनि हस्ताक्षर सहितको चिठ्ठी विभिन्न ठाउँमा पठाएको पत्तो लाग्यो ।”

कलेजले सन्तोष साहलाई अष्ट्रेलिया भ्रमण गराउने कार्यक्रम गर्दा मे २ तारिखका दिन निज ज्ञवाली कार्यक्रमको हर्ताकर्ताका रुपमा कार्यरत थिए ।

सेफ सन्तोष साहसँगको कार्यक्रममा ज्ञवाली तस्वीर कलेजको फेसबुक पेजबाट साभार


समाचार प्रकाशित भएपछि नेपालमा रहेका उनी सम्पर्क बाहिर पुगेका थिए । यस विषयमा बुझ्नका लागि केविसीखबरले बारम्बार उनको फोनमा सम्पर्क गर्दा पनि उनको नेपालको स्वीच अफ देखिएको थियो । तर मंगलबार निजको अष्ट्रेलियाको नम्बरमा रहेको ह्वाट्स एप मार्फत सम्पर्कमा आए । हामीले निजलाई तीन प्रश्न गरेका थियौं –

१. बरउडमा २४ मार्चको दिन हुने होली कार्यक्रमका लागि अनिस सापकोटाको पूजारी भिसा उनले हालेको हो वा होइन ?
२. एनआरएनको पत्र कसले बनाएको हो ?
३. अनिस सापकोटासँग भिसा आवेदनका लागि कति रकम चार्ज गरिएको थियो ?
४. एनआरएन अष्ट्रेलियाका अध्यक्षसँग फेसबुकमा कनेक्टेड रहेको, उनको ईमेल र फोन नम्बर समेत उपलब्ध हुँदाहुँदै भिसा आवेदनको बेला प्राप्त चिठ्ठीबारे सोधपुछ गर्ने दायित्व तपाईंको हो कि होइन ?

यसको जवाफमा ज्ञवालीले आफुले सापकोटालाई नचिनेको बताए । नेपालमा आफ्नो धेरैवटा कार्यालय भएका कारण कसैले हालेको हो कि पत्ता लगाएर जानकारी गराउने पनि उनले जवाफ दिए ।

उनको कम्पनीको विषयमा बुझ्दा उनले कलेजमा मार्केटिंग म्यानेजर रहँदा नै अर्थात् डिसेम्बर १८ तारिखमा दर्ता गरेको देखिन्छ । त्यसपछि ७ अप्रिलमा मात्रै ईभेन्ट म्यानेजमेन्ट कम्पनी पनि ट्रेड नेम दर्ता गरिएको छ । यहाँ हेर्न सकिन्छ – Click Here

हामीले सापकोटाको भिसा रिजेक्सन लेटरमा रहेको सम्पर्क ईमेल ठेगाना र ज्ञवालीको गोल्डफक्स एजुकेशनले प्रयोग गर्ने गरेको ईमेल ठेगाना एकै रहेको तथ्य अनुसन्धानको क्रममा फेला पारेका छौं ।

हेर्नुहोस् रिफ्यूजल लेटर –


निजले कमिशनका लागि पेश गरेको ईन्भोईस कपी –

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्नो लेटरहेडको दुरुपयोग भएको भन्दै अष्ट्रेलियाको प्रहरीमा, नेपाल प्रहरीको सीआईबीमा उजुरी गरेको छ । यसका साथै एनआरएनले दिल्लीमा रहेको अष्ट्रेलियन हाईकमिशनमा समेत एनआरएनको नाममा नक्कली चिठ्ठी बनाइएको विषयमा जानकारी गराउँदै अबदेखि कुनैपनि कार्यक्रमका लागि एनआरएनको सिफारिशपत्र आए त्यसको प्रमाणिकरण गरिदिन पनि अनुरोध गरेको छ । केविसीखबरसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले दोषीलाई कुनैपनि हालतमा कानूनी कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।