इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता


काठमाडौं ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकारले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको पीडित महिलाको आरोप छ। एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।

पीडित महिलाले मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कारबाहीका लागि फिराद दर्ता गराएकी काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणीसम्बनधी कसुर उल्लेख छ भने दफा २२३ मा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने सम्बनधी कसुरबारे उल्लेख छ । त्यस्ता व्यक्तिलाई करणी गरेमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

त्यसैगरी संहिताको दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने सम्बन्धी कसुर उल्लेख छ। यदि कसैले कसैलाई यौन दुर्व्यवहार गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। पीडित महिलाले ऐनका यी दफाहरुमा टेकेर आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको उल्लेख गरी सजाय गरी क्षतिपूर्तिसमेत माग गरेकी हुन् ।