यो वर्ष ‘निफ’को ओपनिङमा ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’

यो वर्ष ‘निफ’को ओपनिङमा ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’


काठमाडौं । आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म हुने भएको छ। निफ फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्रीबाट महोत्सवको उद्घाटन गर्ने बताए।

डकुमेन्ट्रीमा आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई मुख्य विषय बनाइएको छ। निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रता प्राप्तिको खोजको रुपमा प्रस्तुत गर्ने प्रयास रहेको बताएकी छिन्।

हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार पारेकी हुन्। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र त्यसको ५ वर्षपछि काम थालेको लिनले जानकारी दिइन।

७ वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा देखाइँदै आइएको छ। डकुमेन्ट्रीले गत वर्ष ‘वार्सा इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘एसियन प्यासिफिक अडियन्स अवार्ड’ र ‘नेटप्याक अवार्ड’ जितेको थियो।

यो डकुमेन्ट्री निफमा पनि ‘माउन्ट एभरेस्ट अवार्ड’का लागि प्रतिस्पर्धामा छनोट भएको छ। यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन्। विजेता फिल्मले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन्।

चैत १ देखि ५ गतेसम्म आयोजना हुने निफ फेस्टिभलमा यो वर्ष ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला,छलफल र अन्तक्र्रियाहरु सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल र भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।