अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’

अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’


एजेन्सी ।

अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ। ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ।

त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ। अवतरण गर्नुअघि ओडिसिएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो।

अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ को रिपोर्टका अनुसार ओडिसिएसको अवतरणपछिको अवस्थाबारे औपचारिक भने जानकारी सार्वजनिक गरिएको छैन। तर, मिसन निर्देशक टिम क्रेनले चन्द्रमाको सतहमा ओडिसियस रहेको बताए।

ओडिसिएसले अवतरण गर्नुअघि स्पेसक्राफ्टको गति बढेकोले ओडिसिएसले चन्द्रमाको वरिपरि एक अतिरिक्त यात्रा गरेको बताइएको छ। ‘बीबीसी’का अनुसार ल्यान्डर ओडिसिएसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ। घामको किरण यहाँ पुग्दैन। यो खाडल नजिकैको समतल ठाउँ हो। मेलापार्ट १७ औं शताब्दीका बेल्जियमका खगोलविद् थिए। यहाँ पानी भए पनि बरफको रुपमा रहेको वैज्ञानिकहरुको विश्वास छ।

५१ वर्षमा पहिलो पटक अमेरिकी मिसन चन्द्रमामा अवतरण भएको छ। यसअघि सन् १९७२ मा अपोलो(१७ मिसनले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेको थियो। यसपछि अमेरिकाले सन् २०२२ मा चन्द्रमामा आर्टिमिस-१ मिसन पठाएको थियो। तर, त्यो अन्तरिक्ष यान चन्द्रमामा अवतरण भएन।