त्रिवि उपकुलपतिमा बराल नियुक्त

त्रिवि उपकुलपतिमा बराल नियुक्त


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।

प्रधानमन्त्री दाहालले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन्। उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।

शैक्षिक योग्यता, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बराललाई नियुक्त गरिएको जनाइएको छ। बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन्।