रोयल वेस्टर्न्स क्लबले गर्याे रक्तदातालाई सम्मान 

रोयल वेस्टर्न्स क्लबले गर्याे रक्तदातालाई सम्मान 


मेलबर्न, अष्ट्रेलिया । रोयल वेस्टर्न्स क्लबले रक्तदातालाई सम्मान गरेको छ। क्लबले आइतबार मेलबर्नको थ्री वान बी सन क्रेस, सनशाइनको तिनकुने रेस्टुरेन्टमा आयोजना गरेको एक कार्यक्रमकाबीच रक्तदातालाई सम्मान तथा रक्तदान सम्बन्धी वृत्तचित्र विमोचन गरेको हो। 

नियमित रूपमा रक्तदान गरेका रक्तदाताहरूलाई टोकन अफ एप्रीकेसन ट्रफी प्रदान गरी सम्मान गरिएको छ।

अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडमा विधिवत् रूपमा सन २०२१ मा रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमको नाममा दर्ता भएदेखि विभिन्न समयमा गरी निरन्तर रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। हालसम्म उक्त टिममा १४८ जना रक्तदाताहरू जोडिएका छन्।  १३० जनाले पूर्ण रक्तदान र १९९ जनाले प्लाज्मा दान गरिसकेको क्लबले जनाएको छ। 

अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडको वेबसाईटमा जनाए अनुसार हालसम्म टिमले ९७८ जना बिरामीको जीवन रक्षा गर्न सफल भएको बताइएको छ। टिमले सन २०२२ मा लोकल स्पोर्टिङ क्लब च्यालेन्ज प्रोग्राममा सबैभन्दा धेरै प्लाज्मा दान गरेबापत प्रमाणपत्र पाएको थियो। 

क्लबले आयोजना गर्दै आएको रक्तदान कार्यक्रममा मेल्बर्नमा अवस्थित साउथ इष्ट सकर क्लब, मेल्बर्न नेपलिज कम्युनिटी वेस्ट र न्याभ बाल चौतारी वेस्टले सक्रिय सहयोग रहँदै आएको छ। 

कार्यक्रममा अष्ट्रेलियन रेडक्रस लाइफ ब्लड, अस्ट्रेलियन इन्टेग्रेटेड फिजियन एसोसिएसन अफ भिक्टोरिया लगायत नेपाली सामाजिक संघ संस्थाहरु साउथ इष्ट सकर क्लब, मेल्बर्न नेपलिज कम्युनिटी वेस्ट, न्याभ बाल चौतारी वेस्ट, एनआरएनए भिक्टोरिया, फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया, दिदीबहिनी समाज भिक्टोरिया, लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट, अस्ट्रेलिया नेपाल पब्लिक लिंक, अष्ट्रेलियन नेपलिज मल्टिकल्चरर सेन्टर, फार वेस्टर्न नेपलिज सोसाइटी अफ भिक्टोरियाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडका डोनर सेन्टर म्यानेजर याण्डी विलियम्सले क्लबले निरन्तर रक्तदानको आयोजना गरी हजारौँ बिरामीहरूको जीवन रक्षा गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए। उनले यस्तो लोक कल्याणकारी कार्यले नेपाली कम्युनिटीको तर्फबाट राम्रो छाप पार्न सफल भएको बताएकी थिइन्। म्यानेजर विलियम्सले रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमका सम्पूर्ण रक्तदाताहरूलाई बधाई दिएकी थिइन्। 

उक्त कार्यक्रममा विशिष्ट अतिथि डाक्टर राजु अधिकारी, रोमिका राम, प्रभा श्रेष्ठ, प्रेम उप्रेती, निराजन गौली, हालसम्म ८१ पटक रक्तदान गरिसकेका रोशन उपाध्यायले आ-आफ्नो धारणा राखेका थिए। क्लबका उपाध्यक्ष निर्मला शर्माको संयोजनमा एनआरएनए भूकम्प राहत कोषका लागि संकलित जम्मा रकम सात सय अष्ट्रेलियन डलर एनआरएन भिक्टोरियाका सचिव ससेंद्र गौतम केसीलाई उपाध्यक्ष शर्माले हस्तान्तरण गरेकी थिइन्।

आरसीओएन होमस्ले स्पोन्सर गरेको कार्यक्रममा रक्तदान सम्बन्धी डकुमेन्ट्री पनि रिलिज गरिएको थियो। रोयल वेस्टर्न क्लबको सहकार्य रहेको उक्त डकुमेन्ट्री लाइफ ब्लड टिमका संयोजक समेत रहेका सुशील चालिसेको प्रस्तुति रहेको छ। डकुमेन्ट्रीले रक्तदान सम्बन्धी जानकारीका साथै यस सम्बन्धी विविध जिज्ञासाहरूको निरूपण गर्ने प्रयास गरेको छ। रोयल वेस्टर्न्स क्लबका सचिब तेज कार्कीले संचालन गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष निर्मला शर्माले स्वागत मन्तव्य, लाइफ ब्लड टिमका संयोजक सुशील चालिसेले टिमको प्रगति विवरण तथा क्लबका अध्यक्ष रोशन दाहाले धन्यवाद मन्तव्य राखेका थिए।