साउदी राजकुमार काठमाडौंमा, एजेन्डा के–के ?

साउदी राजकुमार काठमाडौंमा, एजेन्डा के–के ?


काठमाडौं, ३० फागुन । साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज बेलुका काठमाण्डौ आइपुग्नुभएको छ ।
निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि मङ्गलवार परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
त्यो सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । झन्डै चार लाख नेपालीले त्यहाँ रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेश मन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज पनि आयोजना गर्नुहुनेछ । भोलि दिउँसो उहाँ स्वदेश फर्कने कार्यक्रम छ ।