परराष्ट्रमन्त्री एनपी साउदको न्यूजिल्याण्डका उपप्रधानमन्त्रीसँग भेट, संसदीय सत्रको अवलोकन

परराष्ट्रमन्त्री एनपी साउदको न्यूजिल्याण्डका उपप्रधानमन्त्रीसँग भेट, संसदीय सत्रको अवलोकन


मेलबर्न अष्ट्रेलिया ।

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्ससँग भेट गरेका छन्। दुई दिने भ्रमणका लागि हिजो न्यूजिल्याण्ड पुगेका मन्त्री साउदले राजधानी वेलिंगटनमा भेटवार्ता गरेका हुन्।

भेटका क्रममा दुबै पक्षले हालसम्म सम्बन्ध सुधारमा भएका कार्यप्रगतिबारे सन्तोष व्यक्त गरेका थिए । मन्त्री साउदको सम्मानमा आयोजना गरिएको दिवाभोजमा समेत दुईपक्षीय विचार आदान प्रदान भएको थियो।

दुईपक्षीय वार्ताका क्रममा विदेशमन्त्री न्यूजिल्याण्ड र नेपालका सरकारी अधिकारीहरुको समेत उपस्थिति रहेको थियो। दक्षिणपूर्वी एशिया तथा प्रशान्त क्षेत्रीय शाखाकी सहसचिव रीता धिताल, सेक्सन अफिसर कोमल बराल उनकी समकक्षी जोहन्ना किमपिकर्स साउथ एशिया र साउथ ईष्ट एशियाकी प्रबन्धक, मेरी थुर्सटन, अप्रिल क्वाक, लगायत सहभागी थिए।

बैठकले आपसी सम्बन्धलाई अझ मजबुट बताउँदै सहयोगको आदानप्रदानको मध्यमबाट जनता जनताबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने विषयमा छलफल केन्द्रित रहेको थियो।

अष्ट्रेलियाका लािग नेपाली राजदूत तथा न्यूजिल्याण्डका लागि गैरआवासीय राजदूत कैलाशराज पोखरेल पनि वार्ता टोलीमा समावेश थिए । नेपाली समूदायसँगको अन्तरक्रियामा राजदूत पोखरेलले कन्सुलर सेवालाई प्रभावकारी बनाउने दिशामा अघि बढेको जानकारी गराउँदै हाल रहेका अप्ठेराहरुलाई पनि छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

यसैबीच मन्त्री साउदले मध्यान्ह न्यूजिल्याण्डको संसदको चालु अधिवेशनको अवलोकन गरेका थिए । उनको आगमनका विषयमा सांसदहरुलाई जानकारी गराइएको थियो।

आजै मन्त्री साउद र न्यूजिल्याण्ड भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग नेपाली सोसाईटी अफ वेलिंगटनले अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त क्रममा दूतावासले दिने सेवा लगायतका विषयहरु उठेको थियो। यस्तै यहाँ नेपालीले हासिल गरेको शीपलार्य देशको विकासमा लगाउनका लागि गर्न सकिने कार्यहरुको विषयमा पनि छलफल भएको छ।