१८ महिने नाबालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ

१८ महिने नाबालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ


काठमाडौं, २९ फागुन । विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएकी १८ महिने नाबालिगको बलात्कारपछि हत्या भएको प्रहरीले दाबी गरेको छ । सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिगलाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी मोरङले आइतबार पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ । सुन्दरहरैंचा–७, ठडियाका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना सहोदर दाजुभाइ भएको प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।
मृतक नाबालिग शुक्रबार ५ बजेतिर आमासँगै खेलिरहेको अवस्थामा एक्कासी हराएकी थिइन् । छोरीलाई नदेखेपछि आमाले १७ वर्षीया अर्की छोरीलाई खोज्न अह्राएको प्रहरीको अनुसन्धानमा देखिएको छ । दिदीले खोज्दै जाने क्रममा घरदेखि १५० मिटर उत्तर–पश्चिमस्थित गछिया खोला किनारमा रहेको झाडीमा रोइरहेको अवस्थामा साँझ ६ः३० बजेतिर मृतकलाई गम्भिर चोटपटक लागेको अवस्थामा फेला पारेकी थिइन् । घाइते बालिका आफैँ उठेर हिँड्न नसक्ने अवस्थामा र दिदीले पनि उठाएर घरसम्म लैजान नसक्ने भएपछि चिच्याउँदै उनले आमालाई भन्न आएको बताइएको छ ।
त्यसपछि आमाछोरी मिलेर घाइते बालिकालाई नजिकैको स्वास्थ्य क्लिनिकमा लगेका थिए । स्वास्थ्यकर्मीले नाबालिगको टाउको दुवैतिर सुन्निएको र यौनाङ्ग क्षत÷विक्षत भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गर्नुपर्ने भन्दै तत्काल इलाका प्रहरी बेलबारीलाई फोन गरेर जानकारी गराएको उनले बताइन् ।
खबर पाउनेबित्तिकै तत्काल इलाका प्रहरी बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनाल स्वास्थ्य क्लिनिक पुगेका थिए । नाबालिगको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि तत्काल थप उपचारका लागि विराटनगर पठाएर मातहतको माथिल्लो निकायलाई जानकारी गराएर घटनाको बारेमा अनुसन्धान सुरु गरेको प्रहरी उपरिक्षक जनार्दन जीसीले बताए । त्यही क्रममा उनी आफैँ पनि घटनास्थल पुगेर बालिका हराएको समयदेखि फेला परेको अवधिमा उक्त क्षेत्रमा आए÷गएका व्यक्तिहरूको सूची बनाउँदै नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेको उनले जानकारी दिए ।
‘रातभर सोधपुछ गर्दै जाँदा शनिबार बिहान ५ बजेतिर चौधरी दाजुभाइले नै बलात्कार गरेर हत्या गरेको निष्कर्षमा हामी पुग्यौं,’ उनले भने, ‘त्यसपछि मामाको घरमा सुतिरहेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु ग¥यौं ।’
गछिया खोलामा बालुवा चाल्दै गरेका दाजु मिथुनसँग भाइ अजयको दिउँसो ३ बजेतिर भेट भएपछि नजिकैको केरा बगानमा गएर दुवै जनाले गाँजा खाएको अनुसन्धानबाट खुलेको जीसीले बताए । ‘गाँजा खाइसकेपछि अजयले दाजु मिथुनलाई यहिँ बस्नू, त्यो घरमा बच्चा भेटियो भने म लिएर आउँछु भनेर गयो,’ उनले भने, ‘पहिलेदेखि नै नाबालिगलाई घरछेउमा एक्लै खेल्ने गरेको देख्दै आएका अजयले कोही नभएको मौका छोपी चक्लेट र १० रुपैयाँ दिएर फकाएपछि नाबालिग उनीसँग गइन् ।’
अजयले नाबालिगलाई बोकेर गछिया खोलाछेउको बनमाराको झाडीमा सुरुवाल खोलेर जबरजस्ती करणी गर्न थालेको अनुसन्धानको क्रममा खुलेको जीसीले सुनाए । ‘करणी गर्न सुरु गर्नेबित्तिकै नाबालिग चिच्याउन थालेपछि पहिलेदेखि नै घटनास्थलमा रहेको बियरको बोतलले अजयले टाउकोमा हिर्काए,’ उनले भने, ‘त्यसपछि पनि नाबालिग चुप नभएपछि नजिकै रहेको ढुंगाले समेत टाउकोमा हिर्काएर पालौपालो अजय र मिथुन दुवैले करणी गरेर नाबालिगलाई त्यहिँ छाडेर गएका थिए ।’
प्रहरीको दाबी अनुसार करणी गरेपछि बालिकालाई त्यहीँ छोडेर उनीहरु दुई जना त्यहाँबाट स्थानीय मदिरा पसल गई मदिरा पिएका थिए । त्यसपछि भने अजय मामा घर गएको र मिथुनले चाउचाउमात्रै खाएर आफ्नो घर गएका अनुसन्धानमा खुलेको छ । पछि भने मिथुन पनि मामा घरमै गएर सुतेका थिए ।
घटनास्थलबाट उनीहरूले नाबालिगलाई हिर्काएर रगत लागेको बियरको बोतल, दुईवटा ढुंगा र उनले लगाएको सुरुवाल बरामद भएको जीसीले बताए । दुवै जनालाई जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गराएर अनुसन्धान थालिएको उनले बताए । उक्त मुद्दामा आरोप ठहर भए दुवै जनालाई आजीवन जेल सजाय हुने कानुनी व्यवस्था छ ।