मानव सेवा आश्रमको सहयोगार्थ अष्ट्रेलियामा ‘गाला डिनर तथा आमा सेमिनार’ हुँदै

मानव सेवा आश्रमको सहयोगार्थ अष्ट्रेलियामा ‘गाला डिनर तथा आमा सेमिनार’ हुँदै


मेलबर्न, अष्ट्रेलिया ।

बेसहाराका लागि सहारा बनेको मानव सेवा आश्रमको सहयोगार्थ अष्ट्रेलियामा ‘गाला डिनर र आमा सेमिनार’ हुने भएको छ। गोरखा समाज अष्ट्रेलियाले मानवीयताको लागि अष्ट्रेलियाका बिभिन्न सहरमा गाला डिनर र आमा सेमिनार गर्न लागेको हो। 

समाजले फेब्रुअरी १७ तारिख शुक्रबार इन्द्रेनी फंसन सेन्टरमा ‘गाला डिनर’को आयोजना गरेको छ। साँझ ५ बजेबाट सुरु हुने उक्त गाला डिनरमा सहभागिता हुनेका लागि एक सय अष्ट्रेलियन डलर शुल्क तोकिएको संस्थाका महासचिव इश्वर दाहालले केबीसी खबरलाई जानकारी दिए। फेब्रुअरी १७ गते शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म एशफिल्ड टाउन हल, सिभिक सेन्टरमा बृहत आमा सेमिनार कार्यक्रम हुने उनले बताए। ‘आमा सेमिनार’ भने फ्रिमा सहभागि हुन पाइने महासचिव दाहालको भनाइ छ।

मानव सेवा आश्रमको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको महासचिव दाहालले बताए। विभिन्न उमेर समूहका सबै जात तथा लिङ्गका सहयोगापेक्षी आश्रित रहेका छन्। जुन अन्य सामाजिक सेवा मुखी संस्थाहरूले प्रदान गर्ने सेवा भन्दा पृथक् र भावुक छ, उनले भने।  

गोरखा समाज अष्ट्रेलिया प्रवासमा रहेर पनि मातृभूमिलाई केही सेवा सहयोग प्रदान गर्ने उद्देश्यले २०१५ सालमा स्थापना गरिएको हो। समाजले अष्ट्रेलियाको विभिन्न सहरमा मानवीयताको लागि बृहत कार्यक्रम आयोजना गरेको छ। संस्थाले हालसम्म विभिन्न महत्त्वपूर्ण सामाजिक कार्यहरू गर्दै आएको छ। 

कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरी मानवीयताको उत्कट नमुना प्रस्तुत गर्न संस्थाको अध्यक्ष आनन्द श्रेष्ठले अष्ट्रेलियाबासी नेपाली र अन्य समुदायलाई अपिल गरेका छन्।

२०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानव मुक्त नेपालको घोषणा गरी विश्वलाई नै मानवीयताको देश भनी परिचित गराउने परिकल्पना सहित महाअभियानमा अघि बढी रहेको मानव सेवा आश्रम हाल देशभरका सात वटै प्रदेशका २४ सेवा केन्द्रबाट सेवा सञ्चालन भइरहेका छन्। 

दुई छाक खाना, एक सरो नाना, छाना मुनीको बास तथा स्वास्थ्य र शिक्षा खास भन्ने मूल मन्त्र बोकेको संस्थामा मह जोडी सद्भावना दूत छन्। संस्थाको अभिभाबकिय भूमिकामा नेपथ्य ब्यान्डका अमृत गुरुङ छन्। उनले मानवीयताको लागि देशभर नेपथ्या म्युजिकल यात्रा गरेर सहयोग गरेका थिए। मनोज गजुरेल हाँस्य क्षेत्रबाट र आनी छोइङ डोल्माले मेची महाकाली उद्धार अभियानमा सहयोग गरिरहेका छन्। 

संस्थाको देशव्यापी अभियान लगभग पूर्णताको अन्तिम चरणमा रहेकोले यसलाई विश्वभर छरिएर रहेका नेपाली सामु मानवताको सन्देश छर्न संस्थाको परिकल्पनाकार केन्द्रीय अध्यक्ष राम्जी अधिकारीको अष्ट्रेलिया आउँदै छन्।