इंग्लिस प्रिमियर लिग : लिभरपुलले थप्यो दुई अंक, म्यान्चेस्टर सिटी दोस्रो स्थानमा

इंग्लिस प्रिमियर लिग : लिभरपुलले थप्यो दुई अंक, म्यान्चेस्टर सिटी दोस्रो स्थानमा


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले २ अंकको अग्रता बनाएको छ। शनिबार राति भएको खेलमा बर्नलेलाई पराजित गरेपछि दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको हो।

लिभरपुल खेल सुरुहुनु अघि भने १ अंकले पछि पर्दै दोस्रो स्थानमा थियो। तर, बर्नलेमाथि ३–१ को शानदार जित निकाल्दै लिभरपुलले तालिकामा कमब्याक गर्न सफल भयो। सिटी भने लिभरपुलभन्दा एक खेल कम खेलेको छ। लिभरपुलको ५४ अंक हुँदा सिटीको ५२ अंक छ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले ३१ औं मिनेटमा अग्रता लिएको थियो। डिएगो जोडटाले ट्रेन्ट आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा ओसियाले गोल गर्दै पहिलो हाफ बराबरी गरेका थिए।

५२ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो। ७९ औं मिनेटमा हार्भे इलियटको पासमा नुनेजले गोल थपेपछि लिभरपुल ३–१ को सहज जित निकाल्न सफल भयो। लिभपुरलसँग पराजित भएको बर्नले भने १८ औं स्थानमा छ।

यसैगरी दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ। सिटीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा दुवै गोल एर्लिङ हालान्डले दोस्रो हाफमा गरेका हुन्। हालान्डले ७१ औं र ८५ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए।

शनिबारको खेलमा जित निकाल्दै टोटनह्याम चौथो स्थानमा उक्लिएको छ। ब्राइटनलाई पराजित गर्दै टोटनह्याम चौथो स्थानमा उक्लिएको हो। टोटनह्यामले ब्राइटनमाथि २–१ गोलको पुनरागमन जित निकाल्न सफल भयो। १७ औं मिनेटमा ब्राइटनले पेनाल्टीमा अग्रता लिएको थियो । पास्कल ग्रसले गोल गरेपछि लिएको अग्रता अन्त्यमा भने जोगाउन असफल भयो।

६१ औं मिनेटमा पेपे सारले गोल गर्दै टोटनह्यामलाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा बेर्ननन जोनसनले हिउङ मिन सनको पासमा गोल गर्दै टोटनह्यामलाई स्पष्ट जितका साथ ३ अंक दिलाए। जितसँगै टोटनह्याम २४ खेलबाट ४७ अंक बनाउँदै तालिकाको चौथो स्थानमा उक्लदा ब्राइटन भने समान खेलबाट ३५ अंकका साथ आठौं स्थानमा छ।

यसैगरी रेलिगेशन खतरामा रहेको सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्डले वुल्भ्सलाई २–० गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको छ।

यसैगरी फुलह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितपछि फुलह्याम १२ औं स्थानमा उक्लदा बर्नमाउथ भने १३ औं स्थानमा झरेको छ। फुलह्यामले घरेलु मैदानमा जित निकाल्दा रोड्रिगो मुनिजले २ तथा बोबी रेडले एक गोल गरे। मार्को सेन्सीले बर्नमाउथनका लागि एक गोल फर्काएका थिए।

पाँचौं मिनेटमा बोबी रेडले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए। रोड्रिगो मुनिजले ३६ औं मिनेटमा गोल गरेपछि फुलह्यामले पहिलो हाफमा २–० को अग्रता लियो। ५० औं मिनेटमा मार्को सेन्सीले गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काउने प्रयास भने गरेका थिए। २ मिनेटपछि नै फुलह्यामका लागि रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेपछि ३–१ को जित निकाल्न सफल भयो।

जितपछि फुलह्याम २९ अंकका साथ तालिकाको १२ औं स्थानमा छ भने बर्नमाउथ २७ अंकका साथ १३ औं स्थानमा रहेको छ।