मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलिया र नेपालबीच व्यापार तथा लगानी सम्झौता भएको छ। अष्ट्रेलियाको पर्थमा आयोजना भइरहेको एक सम्मेलनमा सहभागी हुन आएका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङको उपस्थितिमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्सले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपाल अष्ट्रेलिया ट्रेड एण्ड ईन्भेष्टेन्ट फ्रेमवर्क एग्रिमेन्ट नामक सम्झौतामा हस्ताक्षर गरिसकेपछि आफ्नो ट्वीटरमार्फत खुशी व्यक्त गर्दै उपविदेशमन्त्री वाट्सले नेपाल भ्रमणको स्मरण गरेका छन्। उनले अघिल्लो भेटमा नेपालका परराष्ट्रमन्त्रीसँग भएको सहमति अनुसार सम्झौतामा हस्ताक्षर गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।
सम्झौतापछि अब दुई देशबीचको व्यापार र लगानी प्रबद्र्धनमा सहयोग पुग्नेछ। यो सम्झौताले दुबै देशका व्यापारी र लगानीकर्ताहरुलाई सरकारहरुले सहजीकरण गरिदिनेछन्।
मन्त्री वाट्सले दुई देशको सम्बन्ध प्रगाढ रहेको र सम्झौताले त्यसमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले अष्ट्रेलियामा रहेका नेपाली समूदाय बढ्दो क्रममा रहेको जनता जनताबीचको सम्बन्ध पनि प्रगाढ बन्दै गएको उल्लेख गरेका छन्।
सम्झौताअघि पर्थमा भइरहेको ईन्डियन ओसन कन्फ्रेन्समा सहभागी भएका विभिन्न देशका विदेशमन्त्रीहरुको सम्मानमा अष्ट्रेलियन विदेशमन्त्री पेनी वोङले आयोजना गरेको दिवा भोजमा मन्त्री साउद सहभागी भएका थिए।
सम्झौतापछि दुई देशबीच व्यापारिक कारोबार र लगानीका लागि सहज हुने विश्वास छ। अष्ट्रेलियाबाट नेपालमा जलविद्युत, पर्यटन, कृषि लगायतमा लगानी भएको छ भने अन्य क्षेत्रहरुमा पनि सम्भाव्यता अध्ययन भइरहेको छ।
ईन्डियन ओसन कन्फ्रेन्समा सहभागी भएका सिंगापुरका विदेशमन्त्री डा भिभियन बालकृष्णनसँग पनि मन्त्री साउदले भेटवार्ता गरेका थिए।
प्रतिक्रिया