मेलबर्न, अस्ट्रेलिया ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया आउँदै छन्। अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अस्ट्रेलिया आउन लागेका हुन्।
मन्त्री साउद, श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। मन्त्री साउदले माघ २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पर्थमा रहँदा उनले अस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन्। उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबिच दोस्रो परामर्श बैठक हुनेछ। मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन्।
प्रतिक्रिया