मेलबर्नको ग्लेनरोय पुस्तकालयलाई नेपाली पुस्तक हस्तान्तरण

मेलबर्नको ग्लेनरोय पुस्तकालयलाई नेपाली पुस्तक हस्तान्तरण


मेलबर्न, अस्ट्रेलिया ।

मेलबर्नको ग्लेनरोइ पुस्तकालयलाई नेपाली पुस्तक हस्तान्तरण गरिएको छ। सोमबार एक कार्यक्रमकाबीच नेपाल सरकारकी पूर्व सह-सचिब तथा लेखिका मोती शोभा श्रेष्ठले पुस्तकालयकी टिम लिडर रिता हार्डलीलाई नेपाली भाषाका पुस्तक हस्तान्तरण गरेकी हुन्। 

हस्तान्तरण गरिएका पुस्तकहरूमा मोती शोभा श्रेष्ठद्वारा लिखित चार लघु उपन्यास लगायत आधा दर्जनभन्दा बढी, हिन्दी र अंग्रेजीमा अनुवाद भइसकेको कवि चन्द्र गुरुङद्वारा लिखित कविता संग्रह र केन्पोकाइ छैटौँ डान दान बहादुर घिसिङद्वारा लिखित खेल जीत मनोविज्ञान पुस्तकहरू छन्। 

लेखिका मोती शोभा श्रेष्ठ आफूले लेखेका चार लघु उपन्यासहरू सत्य र आमा, आँसु, सम्झनाको डायरी र प्रकृति लगायत आधा दर्जनभन्दा बढी पुस्तकहरू हस्तान्तरण गरेकी छन्। लेखकद्वय चन्द्र गुरुङ र दान बहादुर घिसिङ नेपाल भएका कारण उनका तर्फबाट लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले पुस्तकालयलाई हस्तान्तरण गरे।

पुस्तकालयलाई हस्तान्तरण गरिएको कवी चन्द्र गुरुङद्धारा लिखित नेपाली संस्करणमा ‘जब एउटा मान्छे हराउँछ’ इन्डिगो इङ्क प्रकाशन गृहले २०७९ जेठमा प्रकाशन गरेको कविता संग्रहको अंग्रेजी संस्करण ‘माइ फादर्स फेस’ रुब्रिक पब्लिसिङ,नयाँ दिल्लीले र हिन्दी संस्करण ‘बुढे माझी का देश’ सर्वभाषा नयाँ दिल्लीले पाठक माझ ल्याएको छ। 

केन्पोकाइ छैटौँ डान, २०५४ देखि २०६५ सम्म राष्ट्रिय अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट क्युकोसिन शिन्जिन करातेमा संलग्न भै विभिन्न पदक प्राप्त गर्ने, २०५६ देखि २०७४ सम्म साग, एसियन गेम्स लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका दानबहादुर घिसिङद्वारा लिखित उक्त कार्यक्रमका बीच पुस्तकालयमा हस्तान्तरण गरिएको ‘खेल जीत मनोविज्ञान’ पुस्तकको अंग्रेजी संस्करणको बिमोचन फेब्रुअरीतिर अस्ट्रेलियाबाट गरिने कार्यक्रम छ।

उक्त कार्यक्रममा दिदी-बहिनी समाज भिक्टोरियाकी निवर्तमान अध्यक्ष डा जमुना पराजुली, डिकिन युनिभर्सिटीमा अध्यापन कार्य गरिरहेका डा अशीम श्रेष्ठ, मुक्तककार सुशिल चालिसे आदिको उपस्थिति रहेको थियो।

नेपालीहरूको बाक्लो बस्तीको कारण नेपाली पुस्तकहरू ग्लेनरोइ पुस्तकालयलाई हस्तान्तरण गरिएको हो। यस अघि पनि उक्त पुस्तकालयलाई नेपाली पुस्तकहरू हस्तान्तरण गरिएको थियो।