तामाङ सोसाईटी एनएसडब्लुले सिड्नीमा सोनाम ल्होछार भव्य रूपमा मनाउने

तामाङ सोसाईटी एनएसडब्लुले सिड्नीमा सोनाम ल्होछार भव्य रूपमा मनाउने


सिड्नी, अष्ट्रेलिया ।

तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सले सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने तामाङ समुदायले फेब्रुअरी १० तारिख शनिवारका दिन माराना अडिटोरियम, हर्स्टभिलमा तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाउने सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो। 

साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा पहिलो एक घण्टा तामाङ परम्परा अनुसार लामा गुरुबाट पूजा-आजा गरिने सोसाईटीका सह अध्यक्ष अबिरल तामाङले केबीसी खबरलाई जानकारी दिए। ‘एक घण्टा पूजाआजा गरेपछि ६ बजे औपचारिक कार्यक्रम सुरु गरिने छ। ७ बजेबाट नेपाली खानाका परिकारका स्टल गरिनुका साथै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि सुरु गरिने छ’, उनले भने। 

पाँच घण्टा चल्ने कार्यक्रमको प्रमुख अतिथिका रूपमा न्यु साउथ वेल्स राज्यका बहुसांस्कृतिक मन्त्री स्टेभे काम्पेरलाई निमन्त्रणा गरिएको उनले बताए। कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआईएनएफएका अध्यक्ष सुदर्शन थापा लगायत एनएसडब्लुमा रहेका नेपाली संघ संस्थाका पदाधिकारी सामाजिक अभियन्तालाई आमन्त्रण गरिएको सोसाइटीका सह अध्यक्ष तामाङले जनाएका छन्। 

मेलबर्नमा बसोबास गर्ने दिल तामाङ आगन्तुक कलाकार रहेको कार्यक्रममा अन्य धेरै स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने सोसाईटीका सचिव सुवास लामाले जानकारी दिए। ‘कार्यक्रम स्थल प्रवेश शुल्क ४५ अष्ट्रेलियन डलर रहेको छ। टिकट खरिद गरेकालाई खाना र पिउने व्यवस्था मिलाइएको छ’, उनले भने। 

कार्यक्रमको व्यवस्थापकीय तथा सांस्कृतिक तयारी अन्तिम चरणमा पुगेको सोसाईटीका उपाध्यक्ष द्वय योन्स तामाङ र ज्ञानक वाईबाले जनाएका छन्। समाजले बिगत केही हप्ता देखि नै कलाकारहरू पहिचान झल्काउने तामाङ सेलो नृत्य तथा अन्य मौलिक कला प्रस्तुतिको निम्ति तयारी गरिरहेको उनीहरुको भनाइ छ। 

सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्न एनएसडब्लुमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सह अध्यक्ष तामाङले उपस्थितिका लागि आग्रह गरेका छन्।  

एस स्टडी एजुकेसन भिजा टाईटल स्पोन्सर रहेको कार्यक्रमलाई बोमजान ऑटोमोटिभ सर्विस प्राइभेट लिमिटेड, गोर्खा मोर्टगेज एण्ड फाइनान्स, वेभ इन्स्टिच्युट, जेरीसोल्टी अबर्न, थिंक वाइज फाइनान्सियल सोलुसनसले सघाएका छन्।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने तामाङ सोसाईटीले आयोजना गरेको सोनाम ल्होछारलाई पहिला पनि सहयोग गरेको र यसपालि पनि सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको एस स्टडीका निर्देशक विष्णु नेपालले बताएका छन्। नेपालको कला संस्कृति जगेर्ना गर्ने पहलमा एस स्टडीको सधैँ साथ सहयोग रहने निर्देशक नेपालले प्रतिबद्धता गरेका छन्। 

तामाङ सोसाइटीले हरेक वर्ष सोनाम ल्होछार मनाउँदै आइरहेको छ। सोनाम ल्होछार देश तथा विदेशमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार मनाउने गर्दछन्।