लालिगामा बार्सिलोना र मड्रिड विजयी

लालिगामा बार्सिलोना र मड्रिड विजयी


काठमाडौं ।

लालिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन्। बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एथ्लेटिकोले भालेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो।

बार्सिलोना र ओसासुनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६३ औं मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए ।

६७ औं मिनेटमा ओसासुनाका युनाइ ग्रासिया दोहोरो पहेलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा टिम भने १० खेलाडीमा समेटिएको थियो। ६३ औं मिनेटमा बार्सिलोनाले गरेको गोलले नै निर्णायक बन्दै स्पष्ट ३ अंक दिलाउन सफल भयो। बार्सिलोना २२ खेलबाट ४७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ। ओसासुना भने २६ अंकका साथ १२ औं स्थानमा छ।

ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो। रेनिल्डोले ३५ औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। ४२ औं मिनेटमा भालेकानोका लागि अल्भारो ग्रासियाले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए।

तर, ९० औं मिनेटमा मेफिस डिपेले एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई जित दिलाए। जितपछि एथ्लेटिको मड्रिड ४७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। रायो भालेकानो भने २४ अंकका साथ १३ औं स्थानमा छ।

लालिगामा जिरोना ५५ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ५४ अंकका साथ दोस्रो स्थानमा छ।