काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्। सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्रै भएको हत्याकान्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित परिवारै मारिएका थिए । उक्त हत्याकाण्डको सत्यतथ्य छानबिन हुने प्रधानमन्त्री दाहालले बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको समेत स्पष्ट पारे। गत शुक्रबार मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको सपरिवार हत्या भएको घटना आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा गुनासो गरेका थिए।
नागरिक अभिनन्दन ग्रहण गर्न वीरगंज पुगेका पूर्वराजा शाहले राजदरबार हत्याकाण्डपछि राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको बताएका थिए।
‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो।
हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो,’ शाहको भनाइ थियो ।
दरबार हत्याकान्डको छानबिनका लागि तत्कालिन अवस्थामा समिति गठन गरिएको थियो। उक्त समितिले युवराज दीपेन्द्रको दोष देखाएको थियो। सर्वसाधारणमा अझै पनि उक्त घटनाबारे विभिन्न आशंका छन् ।
प्रतिक्रिया