एनआरएनएले दियो लुम्बिनी प्रदेशलाई मोबाइल ब्लड बस

एनआरएनएले दियो लुम्बिनी प्रदेशलाई मोबाइल ब्लड बस


काठमाडौँ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष डा बद्री केसीले शुक्रवार नेपालगञ्जमा आयोजित एक समारोहकाबीच नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कमरुद्दीन राईमार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई बस हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा केसीले ५० लाख भन्दा बढी नेपालीहरु विभिन्न बाध्यताले विदेशीन परेको बताए। उनले विदेशबाट दैनिक जस्तो १० देखि १२ जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताए। उनले संघले विगत दुई दशकमा १ खर्बको लगानी र १ अर्ब बराबरको परोपकारी काम गरेको जानकारी दिए।

कार्यक्रममा नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कमरुद्दीन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेकोप्रति खुसी व्यक्त गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐरलगायत स्थानीय सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो।

सातै प्रदेशमा मोबाइल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेश लगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो।