जीबी राईसहित तीनविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन’ नोटिस जारी

जीबी राईसहित तीनविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन’ नोटिस जारी


काठमाडौं ।

प्रहरीले पोखरा–४ नालाको मुखस्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत मुख्य प्रतिवादी राईसहित भूपेन्द्र राई र थानबहादुर बूढामगरविरुद्ध समेत ‘डिफ्युजन’ नोटिस जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्की आइतबार जनाएको छ।

सूर्यदर्शन सहकारीमार्फत ठगी गरेको आरोपमा १९ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पोखरामा दर्ता गरिएको छ। सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन्। जीबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्।

कास्कीमा मात्रै १९ हजार जनाभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप उनीहरुमाथि छ। रकम हिनामिना प्रकरणमा उनीहरुमाथि सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।