प्रधानमन्त्री कप : बागमतीको छैटौं जित, लुम्बिनी ६ विकेटले पराजित

प्रधानमन्त्री कप : बागमतीको छैटौं जित, लुम्बिनी ६ विकेटले पराजित


काठमाडौं ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ। कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै समूह चरणको अन्तिम खेलसहित समग्रमा ६ खेलमा जित हात पार्न सफल भयो।

लुम्बिनीले पहिला ब्याटिङ गर्दै ३२.२ ओभरमा १०६ रन बनाएको थियो। लुम्बिनीका लागि शुसान्त थापाले २८ रन बनाउँदा निर्मल गुरुङले २७ रन नटआउट बनाए। यसैगरी प्रज्वल थापाले १४ रन बनाउँदा विराट भण्डारीले १३ रन बनाए।

बागमतीका सूर्य तामाङले सर्वाधिक ६ विकेट लिँदा विपिन आचार्यले २ विकेट लिए। यस्तै, प्रतिश जिसी र कृजन गुरुङले एक एक विकेट लिए। १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको बागमती प्रदेशले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। बागमतीलाई जिताउन इशान पाण्डेले ५० रनको अर्धशतकीय पारि खेले। उनले ५४ बल फेस गर्दा २ छक्का र ५ चौका प्रहार गरेका थिए। यसैग्री कप्तान रित गौतमले २४ रन नाउँदा आसुतोष घिररैयाले १४ रन बनाए। रविन जोशीले नटआउट ७ रन बनाए।

लुम्बिनीका निर्मल गुरुङले २ विकेट लिँदा कृष्ण कार्की र अभिषेक गौतमले एक एक विकेट लिए। यसैबीच, ६ मा जित र ३ खेलमा हार व्यहोरेको बागमती १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। शीर्ष २ ले फाइनल खेल्ने तालिका अनुसार बागमतिको फाइनल खेल्ने सम्भावना रहे पनि अन्य खेलको नतिजामा भर पर्नुपर्छ।

पुलिस अहिले ६ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको छ। अझैं पुलिसका ३ खेल बाँकी छन्। यसगरी मधेस प्रदेश १० अंकसहित तेस्रो स्थानमा रहेको छ।

उसको पनि एक खेल बाँकी छ। चौथो स्थानमा त्रिभुवन आर्मी क्लब ६ खेलबाट ८ अंकका साथ रहेको छ। पाँचौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशको पनि ८ अंक रहेको छ। यसैगरी एपीएफ र कर्णाली ६–६ अंकका साथ तालिकाको छैटौं र सातौं स्थानमा रहँदा गण्डकी प्रदेश ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ।

२ अंकमात्रै बनाएको लुम्बिनी नवौं र अंक नै जोड्न नसकेको कोशी प्रदेश पुछारमा रहेको छ। तालिकाको शीर्ष ४ मा अटाउने टिमले चैत बैशाखमा एलिट ट्रफीका लागि प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको क्यालेन्डरमै उल्लेख गरिएको छ।