धनी लगानीकर्तालाई दिँदै आएको ‘गोल्डेन भिसा’ अष्ट्रेलिया सरकारले गर्याे खारेज

धनी लगानीकर्तालाई दिँदै आएको ‘गोल्डेन भिसा’ अष्ट्रेलिया सरकारले गर्याे खारेज


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलिया सरकारले धनाढ्यलार्य दिँदै आएको ‘गोल्डेन भिसा’ खारेज गरेको छ। अष्ट्रेलियामा ३३ लाख डलर (झन्डै ४३ करोड ९६ लाख) भन्दा बढी लगानी गर्नेलाई अध्यागमन विभागले दिँदै आएको गोल्डन भिसा खारेज गरेको हो।

विदेशी व्यापारलाई आकर्षित गर्न डिजाइन गरिएको गोल्डेन भिसाले खराब आर्थिक नतिजाहरू प्रदान गरेकाले अध्यागमन सुधारमा कटौती गरिएको बीबीसीले उल्लेख गरेको छ।

अध्यागन नीतिमा व्यापक हेरफेर गर्ने योजनाको हिस्सा अन्तर्गत यो कदम चालिएको हो। अहिलेका लागि यो भिसामा सबै आवेदन रोकिएको छ । सरकारले अध्यागमन प्रणालीको कयौँ पक्षमा परिवर्तन गर्न खोजिरहेको छ।

गृह मामिला मन्त्री क्लेर ओ’निलले बताएअनुसार गोल्डन भिसामा लगाइएको रोक पनि यसैको एउटा पाटो भएको बताएका छन् । अति धनाढ्यहरुले यस्तो खालको भिसाको दुरुपयोग गरेको र देशहरुलाई यसबाट लाभ नभएको भन्दै अष्ट्रेलियाको गोल्डन भिसा जस्तै खालका अन्य लगानी भिसाहरुको विश्वभर आलोचना भइरहेको छ। यसमा एउटा मुख्य समस्या चाँहि अधिकांश लगानी उत्पादनमुलक क्षेत्रमा भन्दा पनि घरजग्गाको क्षेत्रमा जाने गरेको छ ।

गोल्डन भिसाले देश र अर्थतन्त्रलाई चाहिएको अध्यागमन प्रणालीको विकास नगरेको वर्षौदेखि प्रष्ट भएको ओ’निलले विज्ञप्तिमा भनेका छन्। आप्रवासीहरुको आगमन घटाएर कोभिड पूर्वकै स्तरमा ल्याउन डिसेम्बरमा अष्ट्रेलिया सरकारले नयाँ अध्यागमन नीति सार्वजनिक गरेको थियो।