अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने प्रयासमा छु : राजदूत भोल्क

अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने प्रयासमा छु : राजदूत भोल्क


काठमाडौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसीटी जेन भोल्कले शिष्टाचार भेटघाट गरेकी छन्।

भेटघाटका क्रममा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगका आधारमा कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा थप फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे।

“अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता (ओडिए) मा वृद्धि गरेकोमा खुसी लागेको छ”, उनले भने, “सामुदायिक वन कार्यक्रम र नेपालमा वनको दिगो व्यवस्थापनमा अष्ट्रेलियाको महत्वपूर्ण योगदान उच्च प्रशंसनीय छ।” उनले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सहयोग रहँदै आएको उल्लेख गरे्। उनले भने् “दुवै देशले बहुपक्षीयताको संरक्षण र प्रवद्र्धन गर्न साझा हित राख्ने गर्दछ र न्यायपूर्ण, समानुपातिक, समावेशी र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन पनि गर्दछन्।”

अष्ट्रेलियाका महामहिम राजदूत फेलिसीटी जेन भोल्कले दुई देशबीच जनस्तरको सम्बन्धसँगै सरकारसँग बलियो र गहिरोसम्बन्ध रहेको बताइन्। उनले अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीसहित एक लाख २० हजार नेपाली बसोबास गर्दै आएको जानकारी दिइन्। “नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरेपश्चात नेपालमै फर्किएर नेपालको विकासमा टेवा पुर्यानका लागि उनीहरुलाई उत्प्रेरित गर्ने प्रयासमा छु। नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यले ‘ड्युअल डिग्री’ कार्यक्रम सञ्चालन गर्दै नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या बढाउन सकिन्छ। यसका लागि हालै काठमाडौँ विश्वविद्यालय र क्राउन इन्स्टिच्युटबीच समझदारी भएको छ”, उनले भनिन्।