एक दशकपछि अष्ट्रेलिया न्यूजिल्याण्डमा मह जोडी, कुन्ती मोक्तानले साथ दिने 

एक दशकपछि अष्ट्रेलिया न्यूजिल्याण्डमा मह जोडी, कुन्ती मोक्तानले साथ दिने 


मेलबर्न, अष्ट्रेलिया ।

दश वर्ष अगाडी ‘मह यात्रा’ गरेको सोलाङ्चरले फेरी अष्ट्रेलिया र न्यूजिल्यान्डमा मह जात्रा गर्न लागेको हो। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य, हास्य कलाकार किरण केसी, नरेन्द्र कंसकार गायिका कुन्ति मोक्तानसहितका कलाकारको साथमा सोलाङ्चरले मह जात्राको आयोजना गरेको हो। 

ख्यातिप्राप्त कलाकारहरूको टोलीको ‘मह जात्रा २०२४’ अप्रिल र मे महिनामा अष्ट्रेलियाका विभिन्न राज्य तथा न्यूजिल्यान्डमा हुने सोलाङ्चरका कार्यक्रम संयोजक नोर्गेन नोर्बूले जानकारी दिएका छन्। सोलाङ्चरका व्यवस्थापनमा हुने ‘मह जात्रा’ मा महजोडीका साथमा अन्य कलाकारहरूको विशेष प्रस्तुतसहितको सांगीतिक साँझ हुने उनले बताए। 

सोलाङ्चरले सन २०१४ मा ‘मह यात्रा’ अष्ट्रेलिया टुर गरेको थियो। उक्त अवधिको बिचमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य व्यक्तिगत रूपमा आए पनि मह जोडी भएर दश वर्ष पछि अष्ट्रेलिया आउन लागेको उनले बताए। करिब तीन घण्टा चल्ने कार्यक्रममा मह जोडी, किरण केसी, नरेन्द्र कंसकार र गायिका कुन्ति मोक्तानको प्रस्तुति रहने छ। प्रहसन, मह जोडीका केही थान गीतहरू, सम्भवतः दोहोरी र कुन्ति मोक्तानका रमाइला र चर्चित गीत–संगीतहरु कार्यक्रमको मुख्य आकर्षण हुनेछ। 

जिवन भोगाइलाई नजिकबाट निहालेका र तीन पुस्तालाई छोएका मह जोडीको यो टुर हाँस्ने र हँसाउनेका साथसाथै मह जोडीलाई नै अष्ट्रेलिया तथा न्यूजिल्यान्डबासी नेपालीको तर्फबाट धन्यवाद दिने खालको हुने उनले बताए। 

सोलाङ्चरले अष्ट्रेलियामा नेपाली संस्कृति, लोक संगीत, भाषा साहित्यलाई परिवर्द्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्दै आएको छ।