मेलबर्न अष्ट्रेलिया ।
नेपालको मध्य पश्चिमका भूकम्प प्रभावित महिला बालबालिकाका लागि सहयोग जुटाउन मंगलबार साँझ लण्डनमा एक गजल साँझ कार्यक्रम सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) महिला विभागको गरेको उक्त कार्यक्रमको संयोजन युरोप क्षेत्रकी क्षेत्रीय महिला संयोजक प्रसुना कँडेलले गरेकी थिइन्।
ह्यारोस्थित ब्लु रुम स्पोर्टस्मा आयोजित कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले च्यारिटी कार्यक्रम गरेकोमा महिला विभाग तथा फोरमको प्रशंसा गरेका थिए। उनले भूकम्प पीडितको लागि सानो सहयोगले ठुलो आत्मबल पुग्ने भन्दै आयोजकप्रति आभार व्यक्त गरे।
कार्यक्रममा लोकप्रिय गजल गायक राज सिग्देलले ‘उ जितेर गई वा हारेर गई’, लगायतका आफ्ना दर्जनौँ लोकप्रिय गजल वाचन गरेका थिए। कार्यक्रममा सन्जिता देउजा एवं नारायण गाउँले, कृष्ण भट्ट, फणीन्द्र भट्टराई, बासु लामिछाने लगायतले पनि गजल, कविता सुनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख रोशन खनालले भूकम्पपीडित महिला बालबालिकाका लागि च्यारिटी गर्न जुटेको गैर आवासीय नेपाली संघको प्रशंसा गरे।
विशेष अतिथि लन्डन बरो अफ ह्यारो मेयर काउन्सिलर रामजी चौहानले च्यारिटी लक्षित कार्यक्रमको सराहना गर्दै कार्यक्रमले सामाजिक सद्भाव अभिवृद्धि गर्ने भएकाले आफूले ऐक्यबद्धता जनाएको बताए।
कार्यक्रममा विशेष अतिथि ग्रीनवीच बरो, काउन्सिलका डेपुटी मेयर जित रानाभाटले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम संयोजक प्रसुनाले सहभागी र प्रायोजक सबैप्रति आभार व्यक्त गरिन्। उनले रुकुम तथा जाजरकोटका भूकम्प पीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध बाँड्न सानै भए पनि प्रयास गरिएको बताइन्। कँडेलले कार्यक्रमबाट बचेको पैसा तत्कालै भूकम्प पीडितको सहयोगार्थ नेपाल पठाइने जानकारी दिइन्।
यसअघि एनआरएनका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोलीले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण तथा स्वास्थ्य शिविर संचालन गरेको थियो।
प्रतिक्रिया