विराटनगर ।
कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।
एकमात्र उम्मेदवारी परेपछि मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्।
सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेको थियो। एमालेले पनि विष्टलाई समर्थन गरेको थियो। विष्टलाई सभामुख बनाउन राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थाम्सुहाङ समर्थक रहेको प्रस्ताव दर्ता भएको थियो।
गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
२०७९ साउन पुस २६ गते प्रदेश सभाको अधिवेशनमा प्रदेश संरचना खारेज गर्नुपर्ने अभिव्यक्ति दिएका विष्ट निर्विरोध सभामुख चयन भएका हुन्। संघीयता विरोधी नेताका रुपमा उनको परिचय बनेको थियो।
२०२८ सालमा वाम राजनीतिमा सक्रिय विष्ट २०३३ सालमा जुरोपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए। २०३२ मा पञ्चायत प्रवेश गरेका उनी जुरोपानी अर्थात हाल गौरादहका उपप्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। उपप्रधानपञ्चपछि उनी जिल्ला पञ्चायतको सदस्य पनि भएका थिए।
२०४६ को परिवर्तनपछि गठित पूर्वपञ्चहरुको दल राप्रपाको राजनीतिमा सक्रिय भएका विष्ट झापा जिल्लामा आठ वर्ष पार्टी अध्यक्ष भएर काम गरेका थिए। पछिल्लो समय पार्टीको केन्द्रीय सदस्यको भूमिकामा थिए।
तर सत्ता गठबन्धनका नेताहरुले राप्रपा संसदीय दलको नेतासमेत रहेका सिटौलालाई सभामुख बनाउन चाहेका थिए तर सिटौलाले विष्टलाई अघि सारेका थिए।
प्रतिक्रिया